काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा.डा. सुनिल कुमार जोशी र रजिष्ट्रारलाई डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बुधबार शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा.डा. जोशीलाई उपकुलपतिमा तथा डा. चन्दलाई रजिष्ट्रारमा बुधबारै नियुक्त गरेको थियो ।
सिफारिस समितिका संयोजक प्रा.डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रम सहितको प्रतिवेदन सभामा पेश गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिए ।
मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्यांकनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए । उनले मूल्यांकनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठन सहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । बैठकमा सहकुलपतिद्वय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थित थिए ।
को हुन् नवनियुक्त उपकुलपति र रजिष्ट्रार ?
उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धानमा योगदान दिँदै आएका छन् । यसअघि उनी सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थापक कुलपतिका रूपमा समेत काम गरेका थिए ।
जोशीले अक्सपोर्ड विश्वविद्यालयको विभागीय सदस्यको रूपमा पनि जोशीले काम गरेका छन् । काठमाण्डु चाबहिलका स्थानीय वासिन्दा जोशीले एमडी, एमफिल, पीएचडी, पीजीडीडी, एफआरएसपीएच लगायतका शैक्षिक उपाधि हासिल गरेका छन् । चिकित्सा शिक्षा र जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरूमा उनको सक्रिय संलग्नता रहेको थियो ।
नवनियुक्त रजिष्ट्रार डा. भीमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा क्रियाशील छन् । उनले अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेका छन् । यसअघि उनी सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यको रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
बैतडीको पाटन नगरपालिका–१ का स्थायी वासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको रूपमा समेत योगदान दिइसकेका छन् । स्वास्थ्य सेवा व्यवस्थापन, नीति निर्माण तथा संस्थागत विकासमा उनको लामो अनुभव रहेको छ ।




प्रतिक्रिया