काठमाण्डु – निर्वाचनको समय जतिजति नजिक आइरहेको छ, सप्तरी–२मा चुनावी माहोल पनि त्यतिकै तात्दै गएको छ ।
सप्तरी–२का मतदाताको राजनीतिक चेतना राम्रो भएकै कारण यहाँ कुनै पनि उम्मेदवार दोहोरिएर जित्न सकेका छैनन् । त्यसैले यसपटक पनि यहाँको निर्वाचनलाई अत्यन्तै रोचक मानिएको छ ।
अघिल्लो निर्वाचनमा यहाँ जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जितेका थिए । पहिलो पटक संसदीय निर्वाचन लडेका राउतले जनता समाजवादी पार्टी–नेपाल (जसपा–नेपाल)का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । राउत यसपटक पनि उम्मेदवार बनेका छन् ।
स्थानीय मतदाताकाअनुसार यसपटक यहाँका नागरिकले नयाँ उम्मेदवारको खोजीमा छन् । जसले निर्वाचन परिणाममा फेरबदल आउने प्रारम्भिक अनुमान छ ।
कुनै बेला राउतकै पार्टीमा प्रवक्ता रहेका डा. शरदसिंह यादव नवगठित जनअधिकार पार्टीबाट उम्मेदवारी दिएका छन् ।
‘यसपटक यस क्षेत्रका जनताले अझ राम्रो प्रतिनिधि खोजिरहेका छन्’, यादव भन्छन् । उनका अनुसार पार्टीभित्र उत्पन्न विभिन्न विवादका कारण राउतको छवि धुमिल भएको छ ।
जनता समाजवादी पार्टी–नेपाल (जसपा–नपाले) का उम्मेदवार उमेश यादव भने उम्मेदवारी दर्ता हुनुअघि केही समयमै नेकपा (माओवादी) बाट अलग भएका हुन् । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर स्वाभिमान पार्टीमा आबद्ध हुँदै निर्वाचनमा होमिएका छन् ।
‘तर सिंहले कार्यकाल पूरा हुनुअघि मधेश प्रदेशसभाबाट बाहिरिएको विषयमा जनतामा चिन्ता छ । यद्यपि म आफ्नो अवसर देख्दिनँ, तर जनता राम्रो विकल्पको खोजीमा छन्,’ डा.यादवले भने ।
राउतको कार्यकालमा यस क्षेत्रमा खासै विकास निर्माणको काम नभएको असन्तुष्टि जनतामा छ । उनीहरू यसपटक राउतको विकल्पमा छन् ।
यस कारणले पनि सप्तरी–२ फेरि राजनीतिक समीकरण बदलिने भएका कारण विशेष चासोको केन्द्र बनेको छ ।
२०७० को निर्वाचनमा राउतले यादवलाई पराजित गरेपछि यादव यसपटक झस्किएका हुन् । यसपटक पनि यादव यही क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा थिए । तर अध्यक्ष राउत नहटेपछि उनी सप्तरी–३तर्फ सरेका छन् । सप्तरी–२ मा जसपा–नेपालको उम्मेदवार उमेश यादव छन् ।
यसपटक राउतसँग नजिकबाट काम गरेका दुई नेता नै उनीविरुद्ध उभिएका छन् । जनमत पार्टीबाट मधेश प्रदेशका मुख्यमन्त्री बनेका सतिश सिंहले स्वाभिमान पार्टीबाट राउतविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् भने डा. शरद सिंह यादवले आफ्नै नेतृत्वमा गठन भएको जनअधिकार पार्टीबाट उम्मेदवारी दिएका छन् ।
दुवैले पार्टी छोड्नुको कारण राउतलाई नै बताएका छन् । रोचक कुरा के छ भने दुवै जना आ–आफ्नै मधेशकेन्द्रित पार्टीका अध्यक्ष बनेर राउतका प्रतिद्वन्द्वी बनेका छन् ।
गत भदौमा भएको जेन जी आन्दोलनपछि अध्यक्ष राउतले मधेशका मुख्यमन्त्री सतिश सिंहलाई राजीनामा दिन दबाब दिएका थिए । पछि आन्दोलन शान्त भएपछि सिंह मुख्यमन्त्रीकै रूपमा बस्न चाहन्थे तर राउतले उनलाई जबर्जस्ती हटाए ।
त्यसअघि नै सिंह पार्टी छोडिसकेका थिए । उनले राउतविरुद्ध उम्मेदवारी दर्ता गर्नुभन्दा एक दिनअघि मात्र मधेश प्रदेशसभाबाट राजीनामा दिएका थिए ।
शरद सिंह यादवले पनि राउतकै कारण पार्टी छोडेका हुन् । जेन जी आन्दोलनपछि पुस्तान्तरण हुनुपर्ने भन्दै उनले राउतको राजीनामा मागेका थिए । तर राउतले आफै राजीनामा दिनुको साटो उनलाई ‘राजीनामा दिनु या कारबाही भोग्नु’ भनेपछि उनले जनअधिकार पार्टी स्थापना गरेका हुन् ।
अघिल्लो निर्वाचनमा राउतले सप्तरी–२ बाट ३५,०४२ मत ल्याएर जितेका थिए भने उपेन्द्र यादवले १६,९७९ मत मात्र पाएका थिए ।
हाल जसपा–नेपाल र महन्थ ठाकुरको लोसपा एकीकृत भइसकेका छन् । २०७९को निर्वाचनमा लोसपालाई नेपाली कांग्रेस र नेकपा (माओवादी) को समर्थन थियो भने जसपा–नेपाललाई एमालेले को समर्थन गरेको थियो ।
तर यसपटक कुनै पनि दलबीच गठबन्धन बनेको छैन । सबैले आ–आफ्नै उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका रामकुमार यादव, एमालेका मोहम्मद जियाउल रहमान र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यनाथ यादवले पनि उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव, जसपा छोडेर नेपाल जनता पार्टीबाट उम्मेदवारी दिएकी रञ्जु कुमारी झासहित यहाँ ३२ जना उम्मेदवार छन् ।
तर यी उम्मेदवारहरू मध्ये मुख्य प्रतिस्पर्धा राउत, सतिश सिंह र जसपा–नेपालका उमेश यादवबीच हुने देखिन्छ । सतिश सिंह २०७२ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी–नेपालबाट तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए र २०७९ मा जनमत पार्टीबाट सप्तरी–२ (क) बाट प्रदेशसभा सदस्य बनेका थिए ।
उनका पिता लोसपाबाट राष्ट्रियसभा सदस्य रहिसकेका छन् । लामो समयदेखि राजनीतिक प्रभाव भएको परिवारबाट आएका सतिश सिंह यसपटक राउतका लागि बलिया प्रतिस्पर्धीका रूपमा हेरिएका छन् ।




प्रतिक्रिया