काठमाण्डु – पटक–पटक भएका मधेस आन्दोलनबाट सबैभन्दा बढी प्रभावितमध्येको एउटा जिल्ला हो सप्तरी । मधेस प्रदेशको यो जिल्लामा १८ वटा स्थानीय तह छन् । तीमध्ये नौवटा नगरपालिका छन् ।
अघिल्लोपटक मधेस आन्दोलनकै रापतापका बीच भएको स्थानीय चुनावमा यो जिल्लामा मधेसकेन्द्रित दलले नै धेरै पालिकामा जितेका थिए । त्यतिबेलाका तीन ठूला मधेसकेन्द्रित दलमध्ये लोकतान्त्रिक फोरम कांग्रेससँग मिलिसकेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर फेरि फुटिसकेका छन् ।
सप्तरीमा गत चुनावमा बहुपक्षीय प्रतिस्पर्धा भएको थियो । जिल्लामा कांग्रेस पनि बलियो छ । मुख्य प्रतिस्पर्धा मधेसकेन्द्रित दल र कांग्रेसकै बीचमा देखिन्छ । ०७४ सालको चुनावमा कांग्रेस, तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले पाँच–पाँच पालिका जितेका थिए । एमालेले दुई र नयाँ शक्तिले एउटा पालिका जिते । नयाँ शक्ति पछि फोरमसँग मिल्यो ।
त्यसैले दलका हिसाबले हालको जनता समाजवादी पार्टी (जसपा) नै सबैभन्दा ठूलो देखिन्छ । तत्कालीन राजपाका कैयौँ प्रतिनिधि पनि अहिले जसपामै छन् । पहिलेको राजपाका नेताले अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाएका छन् । लोकतान्त्रिक फोरमसँग मिलेपछि कांग्रेस थप बलियो भएको छ । जिल्लाका कतिपय तहमा लोकतान्त्रिक फोरमले उल्लेख्य मत ल्याएको थियो ।
राजमार्गआसपासका क्षेत्रमा एमाले र माओवादी पनि बलिया देखिन्छन् । तर, समग्रमा यी दुई दल भने कमजोर छन् । जिल्लाका अधिकांश पालिकामा गत चुनावमा दुई मधेसकेन्द्रित दल र कांग्रेसका बीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । तर, अहिले मधेस आन्दोलनको रापताप छैन । त्यसैले लोसपाले पहिले राजपाले जितेका तह बचाउन मुस्किल पर्ने देखिन्छ । त्यसको फाइदा जसपा र कांग्रेसलाई हुन सक्छ । यसै पनि कमजोर रहेको एमाले पार्टी विभाजनका कारण झन् कमजोर भएको छ । तर, अघिल्लोपटक जस्तो एमालेविरोधी लहर यसपटक मधेसमा देखिएको छैन । यसको फाइदा उसलाई हुन सक्छ ।
जिल्लामा सत्ता साझेदार दलबीच तालमेलको प्रयास भए पनि सम्भव हुन सकेको छैन । माओवादी र एकीकृत समाजवादीबीच खडग र शम्भुनाथ नगरपालिकामा तालमेल भएको छ । तर, यसले परिणाममा ठूलो प्रभाव पार्ने सम्भावना कम छ । आगामी चुनावमा पनि जिल्लामा यिनै दलबीच बहुपक्षीय प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । यसपटक पहिलो दलका लागि कांग्रेस र जसपाबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।
लोसपा तेस्रो र एमाले चौथो स्थानमै रहनेछन् । तर, मधेसमा व्यक्तिका आधारमा पनि धेरै मत जाने भएकाले चुनावी परिणामको आकलन गर्न त्यति सहज छैन । एमालेले पहिलेभन्दा बढी जित्ने दाबी गरेको छ । अघिल्लोपटक खाता खोल्न नसकेको माओवादी यसपटक तालमेल गरेर भए पनि केही तहमा जित्ने योजनामा देखिन्छ । समग्रमा सप्तरीको चुनाव यसपटक निकै रोचक देखिन्छ । जिल्लामा ४ लाख १२ हजार ४ सय ४५ मतदाता छन् ।
०७४ सालको परिणाम
अग्निसाइर–कृष्णासवरन गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (कांग्रेस)
कञ्चनरूप नगरपालिका– मेयर (एमाले), उपमेयर (कांग्रेस)
खडक नगरपालिका– अध्यक्ष (समाजवादी फोरम), उपाध्यक्ष (कांग्रेस)
छिन्नमस्ता गाउँपालिका– अध्यक्ष (नयाँ शक्ति), उपाध्यक्ष (राजपा)
डाक्नेश्वरी नगपालिका– मेयर–उपमेयर (राजपा)
तिरहुत गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (समाजवादी फोरम)
तिलाठी–कोइलाडी गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (राजपा)
बेल्ही–चपेना गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (कांग्रेस)
बोदे–बरसाइन नगरपालिका– मेयर–उपमेयर (समाजवादी फोरम)
महादेवा गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (समाजवादी फोरम)
राजविराज नगरपालिका– मेयर–उपमेयर (राजपा)
रूपनी गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (राजपा)
बलान–बिहुल गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (समाजवादी फोरम)
विष्णुपुर गाउँपालिका– अध्यक्ष–उपाध्यक्ष (कांग्रेस)
शम्भुनाथ नगरपालिका– मेयर–उपमेयर (कांग्रेस)
सप्तकोसी नगरपालिका– मेयर–उपमेयर (एमाले)
सुरुंगा नगरपालिका– मेयर–उपमेयर (कांग्रेस)
हनुमाननगर–कंकालिनी नगरपालिका– मेयर–उपमेयर (राजपा)
कांग्रेस– ५
राजपा– ५
संघीय फोरम– ५
एमाले– २
नयाँ शक्ति– १






















प्रतिक्रिया