सप्तरी – राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी गोली प्रहार गरेको मण्डलले बताए ।
मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए । मण्डलको बायाँ हातको पाखुरामा गोली लागेको छ । उनलाई राति नै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । पाखुराबाट अत्यधिक रक्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले जानकारी दिए ।
मण्डलको उपचार धरानस्थित प्रतिष्ठानमा भइरहेको छ । गोली प्रहार गरी फरार रहेका अभियुक्तको खोजीकार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताएका छन् ।




प्रतिक्रिया