हङकङविरुद्ध शरद भेषवाकरले बनाए अर्धशतक


काठमाडौं – बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गरिरहेको छ ।

हङकङविरुद्ध शरद भेषवाकरले अर्धशतक बनाएका छन् । तेस्रो नम्बरमा ब्याटिङमा आएका शरदले ९३ बलमा ५ चौकासहित ५० रन बनाएका हुन् । दुवै ओपनर सस्तैमा आउट भएपनि शदर र उपकप्तान दीपेन्द्र ऐरीले तेस्रो विकेटका लागि १२४ बलमा ८३ रनको साझेदारी गरेका थिए । ऐरी ६७ बलमा ३७ रन बनाएर आउट भए त्यसपछि आएका मोहमद आशिफ शेखले शरदलाई साथ दिइरहेका छन् ।

यो खबर तयार पार्दासम्म ३४ ओभरमा ३ विकेटको क्षतिमा नेपालको स्कोर १२६ रन छ ।

पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा नेपालको स्कोर ३ रन मात्रै थियो ।

कुशलले बिहीबार भारतविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए । कप्तान ज्ञानेन्द्र भने भारतविरुद्ध पनि पहिलो ओभरको दोस्रो बलमा शून्य रनमै आउट भएका थिए ।

पहिलो खेलमा भारतको यू–२३ टोलीसँग ७ विकेटको हार व्यहोरेको नेपाललाई समूह चरण पार गर्न आजको खेल जित्नैपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement