विज्ञसँग परामर्श गरेरमात्रै सर्वदलीय बैठक बोलाइने

विज्ञसँग परामर्श गरेरमात्रै सर्वदलीय बैठक बोलाइने


काठमाण्डु – सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको बताएका छन् ।

सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनमा अनौपचारिक छलफल गरिएको र औपचारिक निर्णय भने नगरिएको उनले बताए । सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

स्थानीय तह तथा अन्य निर्वाचन एवं समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न शनिबार बिहान ९ बजे बस्ने बैठक बस्ने भनिएको थियो । एकमन्त्रीका अनुसार स्थानीय तहको निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो ।

शुक्रबार सत्तारुढ पाँच दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तहभन्दा पहिले संघको निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेको छ ।

तर संविधान र कानुन अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ ।

तर, गठबन्धन भने स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएको छ । यो विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएको हो ।

प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएको छ ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले समेत आफूहरूलाई बैठक भएको जानकारी नै नभएको बताएको थियो ।