काठमाडौं – समाजवादी पार्टीबाट सांसद र पार्टी सदस्यबाट बर्खास्त भएकी सरिता गिरी सर्वोच्च अदालत पुगेकी छन् ।
आइतबार गिरीले आफूलाई पार्टीले अन्याय गरेको भन्दै र्सोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले आफूलाई स्पष्टिकरण सोध्ने मौका समेत नदिएको भन्दै अदालतमा रिट दायर गरेकी हुन् ।
गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाएर रिट दायर गरेकी छन् ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटिएको नेपालको नक्सासहितको निशान छाप बदल्न भएको संविधान संशोधनमा गिरीले ह्विप उल्लंघन गरेको भन्दै समाजवादी पार्टीको पदाधिकारी बैठकले गिरीलाई पार्टी निष्काशन गरेको थियो ।
आफूले संविधान संशोधन विधेयक, संघीय संसद नियमावलीबमोजिम नै प्रस्ताव गरेको भन्दै उनले सर्वोच्चमा दर्ता गरेको रिटमा उक्त संशोधन फिर्ता लिन खोज्दा संसदमा हुलहुज्जत गरी फिर्ता लिन र बोल्नसमेत नदिइएको उल्लेख गरेकी छन् ।
‘संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिने, स्पष्टीकरणको पत्र पठाउने तथा प्रतिनिधिसभा सदस्य पदबाट निष्कासन गर्ने समेतको निर्णयहरु कुनै अस्तित्वमा नै कायम नरहेको–नभएको अर्थात् एकीकृत पार्टी जनता समाजवादी पार्टीमा विलीन भइसकेको साविकको समाजवादी पार्टीको नामबाट गरिएको छ, त्यसकारण यो बदर गर्न आदेश गरिपाऊँ’ गिरीले हालेको निवेदनमा भनिएको छ ।




प्रतिक्रिया