काठमाडौं – सांसद सरिता गिरीले आफूलाई संसदमा भारतीय चेलीको दादागिरी चल्यो भनेर आरोप लगाउने सांसद गंगा चौधरीलाई कारबाही गर्न माग गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले आफूमाथि ‘भारतीय चेलीको दादागिरी’ भएको बताउने सांसदलाई कारबाही गर्न माग गरेकी हुन् । उनले संसदमा आफूमाथि मात्र आक्रमण नभई पूरै संसदमाथि आक्रमण भएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’
त्यस्तै उनले आफूले चीन र भारतसँग छलफल गरेर नक्सा प्रकाशित गर्न नभनेको बताइन् । उनले दुवै देशबीचबीच कुरा गरेर सीमाका विषयमा छलफल गर्न भनेको बताएकी छन् ।
उनले सांसदले वस्तुगत तथ्यमा आधारित भएर बोल्न आग्रह गरेकी छन् । त्यस्तै उनले सांसद चौधरीका श्रीमानले दाङको राप्ती गाउँपालिकामा स्थानीय तहको चुनावमा पैसा बाँडेको बताइन् ।
‘चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेका थिए’, उनले भनिन् ।
उनले चीनको इशारामा भारतीय चेलीमाथि यो आरोप लगाएको होइन ? भन्दै आशंका व्यक्त गरेकी छन् ।
उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’
‘भारतीय चेली त्यसै आएकी होइन् । म नेपालको कानुन अनुसार आएकी हुँ’, उनले भनिन् ।
सांसद गंगा चौधरी सद्गौवाले संसदभित्र भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी थिइन् ।
‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन,’ उनले भनेकी थिइन्, ‘नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे ।’




प्रतिक्रिया