काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । चैत्त ६ मा विश्वासको मत लिएलगत्तै उनले सरकार विस्तार गर्ने तयारी गरेका हुन् । दाहाल सुरुमा एमाले, रास्वपा र राप्रापाको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
राष्ट्रपतिको निर्वाचनमा उनी एमालेसंगको गठबन्धन भत्काउंदै कांग्रेसका उम्मेदवारलाई जिताउन लागेसंगै सत्ता गठबन्धन भत्किएको थियो । लगत्तै एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीहरुले राजिनामा दिए ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, एकिकृत समाजवादी, नागरिक उन्मुक्तिलाई लिएर सरकार विस्तार गर्न लागेको उनि निकट स्रोतले जानकारी दियो । उनि निकट स्रोतकाअनुसार दाहालले मन्त्रालय वांडफांडको छलफल लगभग टुंगो लगाइसकेका छन् ।
एकिकृत समाजवादीले यसपटक शक्तिशाली मन्त्रालय पाउने सम्भावना छ । माओवादीबाट अहिले प्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठ, रेखा शर्मा, सुदन किराती, अमनलाल मोदी र राज्यमन्त्रीमा सुशिला श्रीपाईली छन् ।
प्रधानमन्त्री दाहालले आफ्ना विश्वासिला पात्र पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई नयां मन्त्रीको रुपमा जिम्मेवारी दिने तयारी गरेको छ । बस्नेतले गृह वा अर्थमध्ये एक मन्त्रालय सम्हाल्न लागेको स्रोत बताउंछ । पर्यटनमन्त्री किरातीलाई उर्जातिर सार्ने सम्भावना छ । गृहमा श्रेष्ठले जोडबल गरेपनि दाहालले बस्नेतलाई नै पठाउने तयारी गरेका छन् । उनि नेपाली कांग्रेससंगको गठबन्धन मिलाउन सक्रिय भुमिकामा थिए ।
यता नेपाली कांग्रेसबाट मन्त्रीको लागि आरजु देउवा, एनपी साउंद , सिता गुरुङ, धनराज गुरुङ,बद्री पाण्डे,प्रकाशमान सिंह, प्रकाशशरण महत र पूर्णबहादुर खड्का दौडमा छन् ।
समाजवादीबाट महासचिव वेदुराम भुसाल, प्रकाश ज्वाला र किशान श्रेष्ठ मन्त्री बन्ने लाइनमा छन् । पूर्वमन्त्री प्रेम आले समेत मन्त्री बन्न नेताहरुको घरदैलोमा धाइरहेका छन् । तर, उनलाई यसपटक मन्त्री बनाउने सम्भावना कम छ ।
आले आफु मन्त्री नबन्ने भएपछि नागरिक उन्मुक्तिलाई पर्यटन मन्त्रालय लिन आग्रह गरिरहेको स्रोत बताउंछ । उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठले पर्यटनमा दावी गरिरहेकी छन् । जसपाबाट प्रदिप यादव र राजकिशोर यादव मन्त्री बन्नेमा छन् ।




प्रतिक्रिया