बजेट लगत्तै मन्त्रिमण्डल पूनर्गठन हुन्छ, आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्छ : पौडेल


काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् ।

नेता पौडेलले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने,‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होईन । त्यसैले विगतमा भएका सहमति ईमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’

उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे । यद्धपी संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे । उनले भने,‘सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ । तर, सरकार नेकपाकै नेतृत्वमा बन्छ ।’

सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आईरहेको सुनाउँदै त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘सरकारले सुशासनको क्षेत्रमा शुन्य सहनशिलता अपनाउनुपर्छ ।’

भ्रष्टाचार न्यूनिकरणको लागिपनि त्यस्तै गम्भिर पहलकदमी चाल्नुपर्ने उनको भनाई थियो । उनले भने,‘भ्रष्टाचार न्यूनीकरणको लागि विपक्षीले उठाएको आवाज स्वागतयोग्य छ ।’

पौडेलले गुठी विद्येयकलगायतका अन्य कुनैपनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन् गरिएको पनि स्पष्ट पारे । उनले संघीय संसदबाट बजेट पारित भएको सुनाउँदै आजबाट देशैभरिका ७५३ वा गाउँपालिकाहरुले बजेट बनाउने पनि सुनाए । सरकारको कामकारबाही अहिले नै मापन गर्न नसकिने बताउँदै कम्तिमा पनि बजेट कार्यान्वयन भएपछि मापन गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement