काठमाण्डु – सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय आज सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।
नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन्।
संसद्मा कसैले पनि सरकार गठनका लागि बहुमत १३८ सिट नल्याएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको मागदाबी गरेको छ। संसद्मा कांग्रेसका ८९ जना सांसद छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रदेखि प्रदेशसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ। त्यसैअनुसार उसले सरकार गठनको पहल गरिरहेको छ।
त्यस्तै संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ पार्टी बैठकबाटै। माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससँग मिलेर सरकार बनाउँदा सुरुमा आफू प्रधानमन्त्री हुनुपर्ने माग गरिरहेका छन्।
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। समय सकिदै जाँदा दलहरु सरकार गठनको जोडघटाउमा व्यस्त छन्।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्यो। बैठकमा मुख्यतः प्रधानमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दाबी गरिरहेका छन्। मंसिर ४ को निर्वाचनमा गठबन्धन सहभागी भएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा निर्वाचनमा गएका थिए। यी दलहरू अहिले सरकार गठनको तयारीस्वरुप छलफल गरिरहेका छन्।
सत्तारुढ गठबन्धनका तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति बैठकमा जुटेको छ। तर पहिलो चरणमा देउवा कि प्रचण्ड भन्ने टुंगिएको छैन।




प्रतिक्रिया