काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम पेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन् । जसमा आगामी चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा पूर्व–पश्चिम रेलमार्गको निर्माण गर्ने विषय समेटिएको छ । नीति तथा कार्यक्रममा राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने घोषणा गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम समावेश गरेको पहिलो पटक हो ।
पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउने र राजमार्गमा आपतकालीन अवतरणको व्यवस्था गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भनिन्, ‘लगातार तीन वर्षदेखिको आर्थिक वृद्धिदरको उत्साहजनक प्रवृत्तिलाई थप उन्नत बनाउँदै आगामी चार वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गरिनेछ ।’
आगामी आर्थिक वर्षभित्रै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइनेछ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को शुरूदेखि सञ्चालन गर्नेगरी निर्माण कार्यमा तीव्रता दिइनेछ ।
आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइने राष्ट्रपति भण्डारीले बताइन् ।काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने, वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य शुरू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया