सरकारको नीति तथा कार्यक्रम, परम्परागतभन्दा पनि एक्सनमा आधारित हुने

सरकारको नीति तथा कार्यक्रम, परम्परागतभन्दा पनि एक्सनमा आधारित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नयाँ मोडलका साथ आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, अन्य मन्त्रालयका उच्च अधिकारी तथा विभिन्न विज्ञहरूको सहभागितामा नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिन लागिएको हो ।

नयाँ नीति तथा कार्यक्रम आमजनतामा उत्साह जगाउने र परिणाम दिने गरी ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् । सरकारले सो नीति तथा कार्यक्रम आगामी २० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सार्वजनिक गर्दै छ । राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममा आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत निर्धारण गरिएको छ । पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई एक्सनमुखी बनाउनेगरी तयार पारेको छ ।

नयाँ नीति तथा कार्यक्रममा गत वर्षको नीति तथा कार्यक्रमको समीक्षा र मूल्यांकन गर्दै विगतमा गर्न नसकिएको कामलाई आगामी वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँ नीति तथा कार्यक्रम आमजनतामा आशा जगाउने खालका कार्यक्रमहरू समेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

गत वर्षको कामको अनुभवबाट सिक्दै गर्न सकिने खालका विशेष कार्यक्रम मात्रै समेट्दै नीति तथा कार्यक्रम तय पारिएको छ । दिगो विकास लक्ष्यलाई प्राप्त गर्नेगरी कार्यक्रममा विभिन्न विषय समेटिएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।