सरकार, पुरस्कार कहिले दिने ?

सरकार, पुरस्कार कहिले दिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए। तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन्।

सागका पदक विजेताले यसअघि पाउँदै आएको नगद पुरस्कारभन्दा प्रधानमन्त्री ओलीले बढी घोषणा गरेपछि खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि नै संशोधन गर्नुपर्ने बाध्यता थियो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि संशोधन प्रस्ताव पारित गरेको छ।

नयाँ कार्यविधिमा पुरस्कारका लागि सिफारिस समिति गठन गर्नुपर्ने र समिति गठन भएको तीन महिनाभित्र सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले खेलाडीले पुरस्कार पाउन केही समय कुर्नुपर्ने भएको छ। सिफारिस समिति गठन भएको छैन। समिति युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने प्रावधान छ।

गत मंसिर १४ देखि २४ गतेसम्म घरेलु भूमिमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जित्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले दुईभन्दा बढी स्वर्ण विजेतालाई ११ लाख, एउटा स्वर्ण विजेतालाई नौ लाख, रजत पदक विजेतालाई ६ लाख र कांस्य विजेता खेलाडीलाई तीन लाख दिने घोषणा गरेका थिए।

व्यक्तिगत स्पर्धाका स्वर्ण विजेतालाई पुरस्कार घोषणा गरे पनि टिम इभेन्टका विजेता खेलाडीको पुरस्कार घोषणा भने हुन सकेको थिएन। टिम इभेन्टका खेलाडी कति पुरस्कार पाइन्छ भन्ने अन्योलमा थिए।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।