सरकार ‘भर्सेस’ समाजवादी : पूर्व राज्यमन्त्री सुरेन्द्र यादव कतापट्टि ? टुटफुटको अन्तिम प्रयास

सरकार ‘भर्सेस’ समाजवादी : पूर्व राज्यमन्त्री सुरेन्द्र यादव कतापट्टि ? टुटफुटको अन्तिम प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सहज हुने अध्यादेश सुटुक्क मन्त्रिपरिषद्बाट पारित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तत्काल तरङ्ग आयो । मन्त्रिपरिषद् बैठकमा कतिपय मन्त्रीले असन्तुष्टि व्यक्त गरे । नेकपाभित्रको असन्तुष्टि साम्य पार्न र मध्यादेशको औचित्य पुष्टि गर्न प्रधानमन्त्री ओलीले नेकपा नफुट्ने प्रस्ट सन्देश नेताहरूलाई दिए । कोरोना भाइरस संक्रमणको महामारीका बेला ओलीले किन पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याए ? प्रश्नले जवाफ दिन थालेको छ ।

बुधबार रातिदेखि चर्किएको राजनीतिक माहोलले अध्यादेशको परिणाम देखिएको छ -सरकार भर्सेस समाजवादी । सरकारी सक्रियतामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको अध्यादेशले समाजवादी पार्टीमा फुट ल्याउन थालेको छ । पार्टी फुटेको औपचारिक प्रक्रिया निर्वाचन आयोगमा दर्ता भएपछि हुने भएपनि त्यसअघि घमासान अभ्यास हुन थालेका छन् । समाजवादी पार्टीकी उपाध्यक्ष तथा सांसद रेणु यादवको नेतृत्वमा ७ सांसदलाई जुटाएर पार्टी फुटाउन सरकारले सघाइरहेको समाजवादी पार्टी नेतृत्वको आरोप एकातिर छ भने अर्काेतिर समाजवादी पार्टीका नेताले पार्टी जोगाउन अन्तिम प्रयास गरिरहेका छन् ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद सुरेन्द्र यादवको अपहरण सरकारी निर्देशनमा भएको आरोप बुधबार साँझ लगाएदेखि बिहीबार बिहानसम्म घटनाक्रम नाटकीय रुपमा विकसित भएका छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच मध्यराति एकीकरणको घोषणा भएको छ भने सांसद रेणु यादवको नेतृत्वमा ७ जना सांसदले छुट्टै पार्टी गठन गर्ने निर्णय पनि मध्यराति नै गरेका छन् ।

बिहीबार बिहान १० बजे निर्वाचन आयोगको कार्यालयमा सबैभन्दा पहिला कुन पक्षको निवेदन दर्ता हुन्छ ? निर्वाचन आयोगले कुन निवेदनलाई पहिला कारवाही प्रक्रियामा अगाडि बढाउँछ ? पार्टी एकीकरणले पहिला वैधता पाउँछ कि पार्टी फुटले ? यी प्रश्नमा ओली सरकारले ल्याएको अध्यादेशको औचित्य टिकेको छ ।
‘पूर्व आईजीपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ ३ जना काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस् काठमाडौं भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर सरकारी गाडीमा काठमाडौं ल्याइएको रहेछ ।

ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई बिदा गरौं,’ प्रचार विभाग प्रमुख पाण्डेयले फेसबुकमा लेखेका छन्, ‘पाँचतारे मेरियट होटल नक्सालमा समाजवादी पार्टीका सांसदहरूलाई प्रमको तर्फबाट हिजोबाट खान बस्न सबै व्यवस्था गरिएको छ । ७०१–७१५ सम्मका कोठामा समाजवादीका सांसदहरूलाई, केहीलाई डर, केहीलाई मन्त्री पद र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर, राखिएको छ । होटलमा रेणु यादव, इस्तियाक सहितको टीमलाई राखिएको छ । पूर्व स्वास्थ्यराज्यमन्त्री तथा सांसद सुरेन्द्र यादव मेरियट होटलमा प्रमले बनाएको घेरा तोडेर निस्कन सफल । केहीबेरमा सुरेन्द्र यादवलाई सुरक्षित स्थानमा राख्न उहाँलाई लिन म जाँदैछु । यादवजी पीएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ । ओली गुण्डागर्दी हद भो, अब ओलीलाई बिदा गरौं ।’

नेता पाण्डेयले सांसद सुरेन्द्र यादव आफ्नो सम्पर्कमा आइसकेको पुष्टि गर्न फेसबुकमा उनीसँगैको फोटो समेत राखेका छन् । सांसद रेणु यादवले पार्टी फुटाउन कम्तिमा ७ जना चाहिने र यादव नभएको अवस्थामा आवश्यक संख्या अपुग हुने समाजवादीको दाबी छ । यसरी पार्टी जोगाउन समाजवादीले प्रयास गरिरहेको छ भने पार्टी फुटाउन रेणु यादवलाई सरकारले सघाइरहेको छ । सांसदको तानातान जारी छ । कसले बाजी मार्छ ? आगामी घटनाक्रमलाई पर्खिनुपर्छ ।

सांसद सुरेन्द्र यादवको असहमतिका कारण रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने निर्णयले औपचारिकता पाउन ढिलाइ भए समाजवादी र राजपाको एकीकरण भएर ‘जनता समाजवादी पार्टी’ बनिसक्नेछ । त्यसपछि पार्टी फुटाउन आवश्यक पर्ने ४० प्रतिशत संख्या पुर्‍याउन झनै जटिल हुने नेताहरूको अनुमान छ । पार्टी फुटाउन नसकिए सरकारले ल्याएको अध्यादेशको तत्कालिक औचित्यमा समेत प्रश्न खडा हुनेछ ।