सर्लाहीको बरहथवामा फेरि कर्फ्यु, साहको शव सडकमै

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु, साहको शव सडकमै


काठमाण्डु- सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ। आज आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो।

बरहथवा नगर क्षेत्र (उत्तर सोती, चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको छ।

शुक्रबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रेका छन्। यसअघि शुक्रबार घटनापछि शनिबार बिहानसम्म कर्फ्यु लगाइएको थियो भने त्यसपछि निषेधाज्ञा जारी गरिएको थियो।

प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अहिलेसम्म सडकबाट उठाइएको छैन। आज बिहान साहका परिवार तथा आफन्तले बजार र यातायात बन्द गराएका थिए। प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने(नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि शुक्रबार प्रहरीले गोली चलाएको थियो।

गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भएको हो। पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन्।