काठमाण्डु – प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।
चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनीहरू विजयी भएका छन् ।
सर्लाही–१ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन् । भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन् ।
यसैगरी, सर्लाही–२ मा पनि रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन् । उनले ४२ हजार ५१२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
महतोका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याएका छन् ।
यस्तै, सर्लाही–३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरेका छन् । कलवारले श्रेष्ठलाई ३३ हजार ५ सय ५२ मतान्तरले पराजित गरेका छन् ।
यस्तै, सर्लाही–४ मा रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२ हजा ८५७ मतले हराएका छन् ।




प्रतिक्रिया