काठमाढडु – सर्लाही प्रहरीको ज्यादतीविरुद्ध जसपा नेपालले शनिबार मलंगवा बन्द गरेको छ । । दुई दिने बन्दको पहिलो दिन शनिबार सदरमुकाम मलंगवा बजार पूर्ण रूपमा ठप्प भएको छ।
जसपा मधेशका अध्यक्ष अशोक यादवमाथि प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै जसपा सर्लाहीले शनिबार बिहानैदेखि सर्लाही सदरमुकाम मलंगवा बजार बन्द गर्नुका साथै यातायात समेत ठप्प पारेको हो।
शुक्रबार साँझ जसपा सर्लाहीका कार्यकर्ताहरूले मसाल जुलुससहित मलंगवा बजारमा प्रदर्शन गरेका थिए। बन्दका कारण मलंगवा बजार क्षेत्रको सम्पूर्ण कलकारखाना बन्द हुनुका साथै लामो तथा छोटो दूरिका कुनै पनि सवारी साधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन्।
जसपा नेता यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। गत हप्ता जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गर्न एक हजारभन्दा बढी प्रहरी जिल्लाभर तैनाथ गरिएको जनाएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले यादवलाई पक्राउ गर्न सकेको छैन।
गत हप्ता सर्लाहीको मलंगवामा रहेको पूर्वाधार कार्यालयमा प्रहरीको निगरानीमा राति कमीसन दिनेलाई मात्र चेक बनाउने काम गरेको विषयमा यादव र एसपी खड्काबिच गालीगलौज भएको थियो। गालीगलौज लगत्तै सर्लाही प्रहरीको टोली राति नै जसपा नेता यादवलाई पक्राउ गर्न उनको घर पुग्दा प्रहरीको गाडीमाथि स्थानीयले तोडफोड गरेका थिए।






प्रतिक्रिया