काठमाण्डु – सर्लाही नेपालमै सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला हो । यो जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका गरी २० वटा स्थानीय तह छन् ।
जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला हो सर्लाही । मधेस प्रदेशमा पर्ने यो जिल्लाको उत्तरी क्षेत्रमा पहाडी समुदायको बढी जनसंख्या छ ।
पहाडी समुदाय धेरै भएको स्थानमा एमाले र माओवादी केन्द्रको बढी प्रभाव देखिन्छ । दक्षिणतर्फका पालिकामा कांग्रेस र मधेसकेन्द्रित दलबीच प्रतिस्पर्धा छ । ०७४ सालको चुनावमा यो जिल्लामा तत्कालीन राष्ट्रिय जनता पार्टी पहिलो भएको थियो । उसले ६ वटा पालिका जितेको थियो । कांग्रेसले पाँचवटा जिते पनि एउटा जितेको लोकतान्त्रिक फोरमसँग मिलेपछि ६ वटा नै भयो । एमालेले चार, माओवादीले तीन तथा संघीय समाजवादी फोरमले एक स्थानमा जितेका थिए ।
जिल्लामा आगामी चुनावका लागि दलहरू मैदान उत्रिएका छन् । तर, यसपटक अधिकांश पुरानै अनुहार उम्मेदवार बनेका छन् । १६ वटा पालिकामा पुरानै प्रमुख फेरि पनि मैदानमा छन् । लालबन्दी नगरपालिका, हरिपुर्वा नगरपालिका तथा पर्सा र रामनगर गाउँपालिकामा मात्रै नयाँ उम्मेदवार छन् ।
ईश्वरपुर नगरपालिकामा एमालेका मनोजकुमार देवकोटा, हरिवनमा गणेश प्रसाईं फेरि मेयरमा उठेका छन् । बागमती नगरपालिकामा माओवादीका भरतकुमार थापा पनि दोहोरिने दौडमा छन् । कविलासी नगरपालिकामा तत्कालीन राजपाबाट जितेका मेयर कौशलकिशोर राय एमाले प्रवेश गरेर फेरि सोही पदमै उठेका छन् । यसअघि यहाँ राजपा र संघीय फोरमबीच प्रतिस्पर्धा भएको थियो ।
सदरमुकाम मलंगवामा कांग्रेसबाट जितेका मेयर निरसल साह जसपामा प्रवेश गरी फेरि सोही पदमा उठेका छन् । कांग्रेसले टिकट नदिएपछि उनले पार्टी फेरेका हुन् । अघिल्लोपटक राजपाबाट जितेका अधिकांशले यसपटक लोसपाबाट उम्मेदवारी दिएका छन् । सर्लाहीमा एमाले विभाजनको असर पनि बढी छ । हरिपुर नगरपालिकामा एमालेबाट निर्वाचित मेयर जमिरुद्दिन मन्सुर यसपटक एकीकृत समाजवादी पार्टीबाट लडेका छन् ।
केही पालिकामा दलहरूबीच तालमेल भए पनि अधिकांशमा मुख्य दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । लालबन्दी नगरपालिकामा माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ । यो नगरमा कांग्रेसको मेयरका उम्मेदवारलाई केन्द्रबाटै उम्मेदवारी फिर्ता लिन भनिए पनि स्थानीय नेताले अस्वीकार गरेका छन् । त्यसैले अब त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
सर्लाहीमा आगामी चुनावमा बहुपक्षीय प्रतिस्पर्धा देखिन्छ । एमालेमा आएको विभाजनले परिणाम प्रभावित हुन सक्छ । एमालेले अन्य दलका स्थानीय नेतालाई भित्र्याएर टिकट दिएको छ । यसले विभाजनको असर कम हुने उसको मूल्यांकन छ । माओवादीले एकीकृत समाजावादीसँग मिलेर पुरानो वर्चस्व कायम राख्न खोजेको छ । लोकतान्त्रिक समाजवादी पार्टीलाई यसपटक विगतको नतिजा दोहो¥याउन गाह्रो छ । किनकि हिजो राजपामा रहेका सबै लोसपामा नआई जसपामै बसेका छन् ।
त्यसको फाइदा यसपटक जसपा र कांग्रेसले उठाउन सक्छन् । लोकतान्त्रिक फोरमसँग मिलेकाले पनि केही पालिकामा कांग्रेस निकै मजबुत भएको छ । माओवादीले जितेकामध्ये दुई पालिकामा मतान्तर फराकिलो देखिन्छ । समग्रमा जिल्लामा यसपटक पनि मिश्रित परिणाम आउने निश्चित छ ।
तर, लोसपालाई पछि पारेर कांग्रेस पहिलो दल हुन सक्छ । विभाजनको प्रभाव धेरै नपरे एमालेले पुरानो हैसियत कायम राख्न सक्छ । लोसपा भने सबैभन्दा बढी घाटामा जाने संकेत देखिएको छ । जिल्लामा आगामी स्थानीय चुनावका लागि ४ लाख ७४ हजार ४ सय ३९ मतदाता छन् ।























प्रतिक्रिया