सर्लाहीमा जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, दुई जना पक्राउ

सर्लाहीमा जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीमा जेसिबी चालकले वडाध्यक्षकाे हत्या गरेका छन् । शुक्रबार राती जेसिबी चालकसँग विवाद भएपछि चालकले जेसिबीको बकेटले हानेर जिल्लाको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बसेका थिए ।

शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो । विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले बताए ।

उनले घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको बताए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।