जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोलि बुधबार विश्वासको मत लिने भएका छन् ।
मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए ।
उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने बित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरू गरेकाले केही ढिलो हुन गएको बताए ।
उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोलि विश्वासको मत लिने जानकारी दिए ।
मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए । उनले विभिन्न दलहरूसँग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै शंका नरहेको बताए ।
सोमबार सर्वाेच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।




प्रतिक्रिया