नवलपरासी-१ : कांग्रेसको विरासत जोगाउन शशांकलाई चुनौती

नवलपरासी-१ : कांग्रेसको विरासत जोगाउन शशांकलाई चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंसिर ४ गते हुने निर्वाचनमा नवलपरासी १ मा सत्ता गठबन्धनबाट डा शशांक कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेसका कोइराला र एमालेका पौडेलबीचको प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको छ । यसअघि २०६४ सालयता नवलपुरको यो क्षेत्रबाट जित्दै आएका डा शशांकलाई एमालेका केन्द्रीय सदस्य पौडेलले चुनौती दिएका छन् ।

यसअघि ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारभन्दा ४ हजार २४ मतान्तरले जितेका कोइराला यस पटक पाँचदलीय गठबन्धनको उम्मेदवार बनेर सहज जित निकाल्ने दाउमा छन् । विराटनगरमा जन्मेका डा कोइरालाले २०६४ सालदेखि नै नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट चुनाव जित्दै आएका छन्।

नवलपरासी–१ मा कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो । विराटनगर छाडेर पहिलो पटक चुनाव लड्नका लागि नवलपरासी पुगेका डा.शशांकले ०६४ सालको चुनावमा नवपरासीबाट ३ हजार मतान्तरले माओवादीका ठाकुरप्रसाद चापागाईँलाई हराएका थिए ।

कोइरालाले त्यसबेला १७ हजार ४ सय ३० मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी बनेका चापागाईले १४ हजार ९ सय ७२ मत पाएका थिए । सो क्षेत्रमा ०६४ सालमा एमालेको मत साढे ८ हजार मात्रै आएको थियो । दोस्रो संविधानसभामा पनि शशांकले नवलपरासी–१ बाटै विजयी भएर संविधान सभा सदस्य बनेका थिए ।

यो क्षेत्रमा २०४८ सालयता कांग्रेस कहिल्यै पराजित भएको छैनन् । २०४८ सालमा सूर्यभक्त अधिकारी, २०५१ सालमा महेन्द्रध्वज जिसी २०५१ र २०५६ सालमा दामोदर बस्ताकोटी निर्वाचित भएको यो क्षेत्रमा २०६४ पछिका चुनवामा डा शशांक जित्दै आएका छन् । तर यसपटक भने उनलाई चुनाव जित्न स्वतन्त्रसहित विभिन्न राजनीतिक दलले चुनौती थपेका छन् ।

गत वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका प्राडा मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका राजन गौतम, नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस बीपीमा लागेका यमनाथ बस्ताकोटीलगायतको उम्मेदवारीले डा शशांकलाई यसपाली चुनौती थपेको छ ।

एमालेले संविधानसभा सदस्य निर्वाचित पौडेललाई अघि सारेको छ । राप्रपाले डा. मोहनीलाल भुसाललाई उतारेको छ ।माओवादी केन्द्रले कोइरालालाई सहयोग गर्दा जसपाले एमालेलाई सहयोग गरेको छ ।

गठबन्धनले सहज बाटो बनाएको भएता पनि कांग्रेसको महामन्त्रीसमेत बनिसकेका कोइराला १५ वर्षसम्म सांसदमा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र वितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोपसमेत खेप्दै आएका छन्।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतअनुसार कांग्रेसको ४० हजार ५११, एमालको ३९ हजार ९५१, राप्रपाको २ हजार ३७३, माओवादीको १ हजार ९२१, जसपाका १८८ मत रहेको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा यो क्षेत्रमा कोइरालालाई सहज देखिएको छ ।

नवलपुर–१ मा प्रतिनिधि सभातर्फ कोइरालासहित १६ जनाले मनोनयन गरेका छन् । ५ जना स्वतन्त्रका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीका २ जना उम्मेदवार समेत खडा छन् । विपक्षीहरूबाट मत जोगाउन सके कोइरालाई र पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।