काठमाण्डु – मन्त्रिपरिषद् बैठकले बुधबार विभिन्न ८ निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकको निर्णयबारे जानकारी दिएका हुन् ।
बैठकले काठमाण्डु उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाण्डुका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ ।
बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।
बैठकले कारागार नियमावली, २०८३ लाई पनि स्वीकृति प्रदान गरेको छ । मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना तथा सुशासन सुदृढीकरणका लागि भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना बैठकले अनुमोदन गरेको छ ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया