पत्रकार पक्राउ गर्न सरकारको अनुमति थिएन, प्रहरीको आन्तरिक जाँच थियो : प्रवक्ता पोखरेल

पत्रकार पक्राउ गर्न सरकारको अनुमति थिएन, प्रहरीको आन्तरिक जाँच थियो : प्रवक्ता पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सञ्चारमाध्यमको समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनालाई लिएर प्रश्न उठिरहेका बेला सरकारले उक्त गतिविधि पत्रकारलाई नियन्त्रणमा लिन नभई प्रहरीभित्रबाट सूचना चुहावट भएको विषयमा आन्तरिक जाँचका क्रममा भएको स्पष्टीकरण दिएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीका आन्तरिक सूचना बाहिरिएको विषयमा समाचार कसरी प्रकाशित भयो भन्नेबारे बुझ्न प्रहरीबाट सोधपुछ तथा जाँचबुझ भएको बताए।

मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री र सरकारको पूर्वस्वीकृतिमा प्रहरी समाचार कक्षमा गएको भन्ने बुझाइ गलत भएको दाबी गरे।

प्रवक्ता पोखरेलले भने ‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनि उदाहरणका लागि प्रधानमन्त्री आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’

विशेषगरी प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने जस्ता तथ्यहीन सूचना बाहिरिएको विषयलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरे।

‘प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो भन्ने विषयमा प्रहरीले तथ्यजाँच र जाँचबुझ गरेको हो,’ प्रवक्ता पोखरेलले भने।

उनले यस घटनाबारे सरकार वा प्रधानमन्त्रीलाई पूर्वजानकारी नभएको स्पष्ट पार्दै प्रहरीको कदमलाई उसको आन्तरिक विषय भएको बताए ।

पोखरेलका अनुसार प्रधानमन्त्रीलाई घटनाबारे जानकारी प्राप्त भएपछि पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिइएको थियो।

उनले भने, ‘सरकारसँग पूर्ण अनुमति लिएर गरेको होइन। त्यसमा सरकारलाई, प्रधानमन्त्रीलाई त्यसको केही पनि जानकारी थिएन। त्यसमा गृह मन्त्रालयले आवश्यक परे थप त्यसको काम कारबाही गर्छ।’