गठबन्धनको बैठकः मन्त्रिपरिषद् विस्तारमा जुटेन सहमति, संसद चलाउन एमालेसँग वार्ता गर्ने

गठबन्धनको बैठकः मन्त्रिपरिषद् विस्तारमा जुटेन सहमति, संसद चलाउन एमालेसँग वार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । आइतबार बिहान बसेको बैठक प्रतिनिधिसभा सञ्चालनका विषयमा केन्द्रीत भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको हो ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संसदको अवरोध हटाउन विपक्षी दल नेकपा एमालेसँग वार्ता गर्ने निर्णय भएको जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारका विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिए ।

‘संसद्को अवरोध हटाउने विषयमा विपक्षीसँग कुराकानी गर्ने भन्ने समझदारी भएको छ । अन्य विषय जो विगतदेखि हुँदै आएका छन्, ती सबै विषयमा पनि कुराकानी भएको छ,’ महामन्त्री खड्काले भने ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसदमा अवरोध गरिरहेको छ । अवरुद्ध बनेको संसदलाई सहज बनाउन सत्ता गठबन्धनलाई दबाब छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।