इँटा उत्पादनमा मधेश प्रदेश मुलुकमै सबैभन्दा अगाडि छ : मुख्यमन्त्री सिंह

इँटा उत्पादनमा मधेश प्रदेश मुलुकमै सबैभन्दा अगाडि छ : मुख्यमन्त्री सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इँटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन् ।

नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान लगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए ।

मुलुकभर रहेका करीब १ हजार ३०० इँटा उद्योगमध्ये ७०० मधेश प्रदेशमा रहेका र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेका जानकारी उनले दिए । मुख्यमन्त्री सिंहले मधेश प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको गुनासो गर्दै प्रदेश सरकारको भागको कर बुझाउन स्थानीय तहहरूलाई आग्रह गरे ।

उनले भने, ‘निकासी पैठारी, खोला र मनोरञ्जन लगायतका कर उठाउने पालिकाहरूले उठेको करबाट ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्ने हो तर पठाएको छैन । प्रदेश सरकारको भाग बुझाउन आग्रह गर्दछ ।’

सिंहले इँटा उद्योगीहरूलाई पनि प्रदेश सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्नुपर्ने आवश्यकता औंल्याए । उद्घाटन समारोह महासंघका अध्यक्ष संजिव साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जनकपुरधामका मेयर मनोज साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान लगायतका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए ।