जनकपुरधाम – मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूलाई वन म्यान आर्मी बुझेकै कारणले आज पार्टी फुट्को आरोप लगाएका छन् ।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्व मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतले जहिले पनि एकलौटी गर्न खोजेको आरोप लगाएका छन् ।
सिंहले अध्यक्ष राउतलाई भगवान् शिवको संज्ञा दिँदै पार्टीका कार्यकर्ताहरूलाई भस्मासुरको जस्तो भूमिका खेप्नु परेको सुनाए । कुनै पनि पार्टीमा अध्यक्षले मात्र चलाउन नसक्ने सिंहले बताए । उनले पार्टीमा उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्य लगायत सबैको योगदान हुने बताए ।
तर जनमतका अध्यक्ष डा. राउतले आफूबाहेक कसैको पनि कुरा नसुन्ने र आफूलाई जे चाहियो, त्यो मात्र गर्ने गरेको पूर्व मुख्यमन्त्री सिंहले बताए । जनमत पार्टी अध्यक्ष डा. राउतले गठबन्धनमा रहेर गठबन्धनमै रहेका अन्य पार्टीहरूलाई गाली गर्ने गरेको सिंहले बताए ।
पूर्व मुख्यमन्त्री सिंहले नयाँ बनेको मधेश प्रदेश सरकारलाई संघीयता बचाएर राख्न आग्रह गरे । उनले मधेश प्रदेश र मधेश प्रदेशवासीका लागि संघीयता अतिआवश्यक रहेकोले यसलाई बचाउन प्रदेश सरकार मात्र नभई सम्पूर्ण प्रदेशवासीले पनि आ–आफ्नो तर्फबाट लाग्न आग्रह गरे । जेनजी आन्दोलनपछि नष्ट भएका सरकारी संरचना तथा कार्यालयका आवश्यक सरसामानहरूको यकिन हिसाब किताब राख्न उनले नयाँ सरकारलाई सुझाव दिए ।
बाँचेका सामानहरू पनि कसैले लगेर जेनजी आनदोलनमा नष्ट भयो भन्ने नहोस भनेर उनले सुझाव दिए ।
पूर्वमुख्यमन्त्री सिंह जनमत पार्टीबाट फुटेर बनेको जनस्वराज पार्टीमा गएका छन् । बिहीबार मधेश प्रदेशका नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् भने पूर्व मुख्यमन्त्री सिंहको पद बिहीबारबाट समाप्त भएको छ ।




प्रतिक्रिया