सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन ४ घण्टा बाँकी, सत्ता गठबन्धन फुट्ने संकेत!

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन ४ घण्टा बाँकी, सत्ता गठबन्धन फुट्ने संकेत!


काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय आज साँझ ५ बजे सकिँदै छ। प्रमुख राजनीतिक दलहरुले भने बहुमत जुटाउन सकेका छैनन् ।

हाल सत्ता गठन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने देखिएको छ । तर, सत्ता गठबन्धन दलहबीच भागबन्डामा सहमति जुट्न सकेको छैन् । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछोड्ने अडान राखेपछि सत्ता गठन्धनमा सहमति जुट्न नसकेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनु पर्ने माग राखेका छन् । यदि कांग्रेसले अटेर गरेपछि गठबन्धन फुट्नेसमेत उनले चेतावनी दिएका छन् ।

आइतबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएका थिए । जवाफमा प्रचण्डले यदि कांग्रेसले त्यहि अडान लियो भने गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने चेतावनी दिए ।

यसैबीच आज बिहान माओवादी पदाधिकारीको बैठक बसेको थियो । उक्त बैठकमा प्रचण्डले आफ्ना सांसदहरुलाई देउवासँग अन्तिम कुरा गर्ने भन्दै बालुवाटार छिरेका थिए । त्यस्तै प्रचण्डको सचिवालयले पछिल्लो घटनाक्रमले फेरि इतिहासको दुखान्त पुनरावृत्ति अगाडि आएको जनाएको छ ।  आफू तल पर्दा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने प्रवृत्ति खतरनाक रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ’, मल्लले सामाजिक सञ्जालमा लेखेका छन् ।

माओवादी केन्द्रले गठन्धन फुट्ने चेतावनी दिए पनि देउवा भने आफ्नो अडानबाट पछि हट्ने मनशायमा छैनन् । देउवा आफू जसरी पनि पहिलो चरणमा प्रधानमन्त्री बन्ने दाउँमा छन् । प्रचण्डले नमानेको खण्डमा नेकपा एमालेसँग सहकार्य गर्ने पनि कांग्रेसले बताइसकेको छ । यसका लागि कांग्रेस र एमालेबीच संवाद भइरहेको छ ।