काठमाण्डु – आइतबार प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास भएसँगै सत्ता गठबन्धनले निरन्तरता पाएको छ । एमसीसीकै कारण फुटको डिलमा पुगेको पाँच दलबीचको गठबन्धन ‘व्याख्यात्मक टिप्पणी’ को तागतमा जोगिएको हो ।
एमसीसी सम्झौतामा भएका केहि बुँदाहरु संशोधन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान राख्दै आएको नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी आइतबार एकाएक एमसीसी पास गर्न तयार भएका थिए । ब्याख्यात्मक टिप्पणीससिहत एमसीसी कार्यान्वयन गर्न अमेरिका समेत सकारात्मक देखिएको छ ।
प्रचण्ड माधवले एमसीसीका विपक्षमा उभिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्य गर्ने तयारी गरेका थिए । तर देउवाले एमालेसँग सहकार्य गरे सभामुख अग्नि सापकोटा र एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको पद जाने देखिएपछि प्रचण्ड–नेपाल एमसीसीका पक्षमा उभिएका हुन् ।
यद्यपी एमसीसीको गाँठो सुल्झिएपनि गठबन्धनको राजनीतिक भविष्य कहिलेसम्म रहला ? भन्ने प्रश्न कायमै छ ।
किनकी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनसम्मै तालमेलसहितको गठबन्धन चाहन्छन् । तर चुनावी मोर्चाका लागि कांग्रेस अझै तयार भइसकेको छैन ।
गठबन्धन टिकाउन भन्दै एकाएक एमसीसीको पक्षमा देखिएका प्रचण्ड र माधव नेपालले अबको ध्यान निर्वाचन केन्द्रित हुने बताउँदै आएका छन् । एमसीसी पास भएलगतै प्रधानमन्त्री एंव कांग्रेस सभापति समेत रहेका देउवाले सरकारको ध्यान अब निर्वाचनतिर रहेको बताएका थिए ।
प्रधानमन्त्रीले ध्यान निर्वाचनतिर भनेलगतै प्रचण्ड र नेपालले गठबन्धनको तालमेल सरकारलाई मात्र नभई अब क्रमश हुने तीनै तहको निर्वाचनमा हुनुपर्ने माग राखेका छन् । त्यहि तालमेल हुने भन्दै एमसीसी पास गर्न एकाएक सकरात्मक बनेका प्रचण्ड–नेपालले प्रधानमन्त्री देउवालाई सम्झाएको स्रोत बताउँछ ।
स्रोतका अनुसार एमसीसी संसदबाट पास भएलगत्तै उनीहरुले नेपाली कांग्रेससँग चुनावी तालमेलको कुरा अगाडी बढाएका छन् । यता प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेलले चुनावी तालमेलबारे सकरात्मक आशा देखाएका छन् । तर, कांग्रेस भित्रको आवाज भने विपक्षमा रहेको छ । कांग्रसका अधिकांश नेताहरुले कांग्रेस एक्लै निर्वाचनमा जानु पर्ने बताइरहेका छन् ।
शेखर कोईराला, प्रकाशमान सिंह, शशांक कोईराला, गगन थापालगायतका नेताहरु कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने जोडमा छन् । यस्तो अवस्थामा गठबन्धनको तालमेल निर्वाचनसम्म जान सक्ने संभावना न्युन देखिन्छ ।




प्रतिक्रिया