सत्ता गठबन्धनको बैठक : तालमेलको मोडलमा छलफल हुँदै, आजै सर्कुलर जारी गर्ने तयारी

सत्ता गठबन्धनको बैठक : तालमेलको मोडलमा छलफल हुँदै, आजै सर्कुलर जारी गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठकले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । चुनावी तालमेलको मोडल टुंगो लगाउन बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजै संयुक्त अपिल जारी गर्ने तयारी गरेको हो ।

आसन्न स्थानीय चुनावमा एमालेविरुद्ध देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच खटपट देखिएपछि संयुक्त अपिल जारी गर्न लागिएको हो ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तालमेलका लागि मापदण्डबारे छलफल भइरहेको जानकारी दिए । ‘स्थानीय तहमा गठबन्धन गर्ने मापदण्ड बनाएर सबै स्थानीय तहमा सर्कुलर गरिनेछ । आजै संयुक्त अपिल पनि जारी हुन्छ’, श्रेष्ठले भने ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

प्रधानमन्त्ती निवास बालुवाटारमा अहिले गठबनधनको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत सहभागी छन् ।

नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङ छन् । नेकपा एसबाट सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव विजय पौडेल छन् ।

जसपाबाट अशोक राई, रेणुकुमारी यादव र जनमोर्चाबाट दुर्गा पौडेल छन् । बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा कार्यकारिणी परिषद्का अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित छन् ।