काठमाण्डु – स्थानीय तह निर्वाचनका लागि भागबण्डा मिलाउन सोमबार दोस्रोपटक बसेको सत्ता गठबन्धनको बैठकले ५ महानगरको टुंगो लगाएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले काठमाण्डुसहित ५ महानगरपालिकाको बाँडफाँट गरेको हो । जसमा नेपाली कांग्रेसले तीनवटा महानगरपालिका लिने सहमति जुटेको छ ।
रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले काठमाण्डु, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको हो । उनका अनुसार बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति गरेको छ ।
एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ । स्रोतका अनुसार पोखरामा समाजवादीले दावी यथावत राखेपछि तत्काल पोखराकाे विषयमा निर्णय नलिइने निर्णय भएको छ । यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि बिहान साँढे ११ बजे बस्ने बैठकले पोखरा महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख कसले लिने भन्ने टुंगो लगाउने जानकारी दिए ।
उनका अनुसार दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा लगभग सहमति भइसकेको र मंगलबार सहमतिको खाका सार्वजनिक गर्ने बताए ।




प्रतिक्रिया