गठबन्धनमा भागबण्डा सकस : यसकारण हुनसक्छ राजनीतिमा ‘यु टर्न’

गठबन्धनमा भागबण्डा सकस : यसकारण हुनसक्छ राजनीतिमा ‘यु टर्न’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह निर्वाचन यहि बैशाख ३० गते हुँदैछ । निर्वाचन आउन अब २४ दिन बाँकी छ । उम्मेदवारी मनोनयनको ६ दिन मात्र बाँकी छ । तर, सत्ता गठबन्धनबीच महानगरपालिका, उपमहानगरपालिकालगायत विभिन्न पालिकाहरुमा अझै सहमति बन्न सकेको छैन ।

काँग्रेसले ३, माओवादी, जसपा र नेकपा एसले १– १ महानगरपालिकामा मेयर पाउने भित्री सहमति बनेको भनिएपनि पोखरामा कुरा मिल्न सकेको छैन । उपमहानगरपालिकाहरुमा पनि कुरा मिल्न सकेको छैन ।

गठबन्धनमा केन्द्रबाट सहमति गरेपनि तल्लो तहमा मिल्न कठिन छ । विशेषगरी नेपाली काँग्रेसका कतिपय नेता र कार्यकर्ताहरुले गठबन्धनको विरोध गर्दै आएका छन् । स्थानीय तहमा धेरै आकांक्षी भएकाले काँग्रेसभित्र नै तिव्र प्रतिष्पर्धा छ ।

गठबन्धन मिलाउन कठिन देखिएपछि माओवादी, नेकपा एस र जसपाले अन्य विकल्पमा पनि छलफल अघि बढाएका छन् । विभिन्न प्रदेशहरुमा उनीहरुको आफ्नै गठबन्धन बन्न थालेको छ । पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीले दावी गरेको छ ।

पार्टी विभाजनअघि एमालेले जितेको पोखराको मेयर आफुले पाउनुपर्ने भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्नो अडान कायम राखेको हो । उसले पोखराको मेयर आफुले नपाए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्ने समेत चेतावनी दिएको छ ।

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले सोमबार पोखरामा बसेको सत्ता गठबन्धनको बैठकमै मेयर आफूले नपाए एमालेसँग तालमेल गर्ने धम्की दिए । उनले भनेका थिए, ‘माधवजीले कांग्रेस र एसका उम्मेद्वारले उम्मेद्वारी दिन लगाउने र जसको माहोल राम्रो हुन्छ, उसैलाई अगाडी बढाऔं भन्नुभएछ । हामी यसमा सहमत छैनाैं, बरू नोमिनेसन नै गर्दिनँ । हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौं बरु एमालेसँग मिल्छौं ।’

त्यस्तै कांग्रेसले कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन गर्न नसकिने विज्ञप्तिनै जारी गरेर स्पष्ट पारेको छ । यता माओवादीभित्र पनि काँग्रेस गठबन्धनका लागि तयार नभए अन्य विकल्पमा जानेबारे पनि छलफल चलेको छ । नेता वर्षमान पुनले एमालेसँग तालमेल गर्न दबाब दिदै आएका छन् । तर, प्रचण्डले मानेका छैनन् ।

एमाले पनि कमल थापा र एकनाथ ढकाललाई साथमा लिएर हिडिसकेको छ । सीके राउतलाई मनाउन लागिपरेको छ । हृदयश त्रिपाठी पनि एमालेसँग नजिक छन् । सत्ता गठबन्धनभित्र चुनावी तालमेल नभएको खण्डमा एमाले र काँग्रेस एक्लाएक्लै चुनाव लड्ने सम्भावना पनि रहन्छ । त्यस्तो अवस्थामा माओवादी, नेकपा एस र जसपालाई ठूलो धक्का लाग्न सक्छ । यसकारण उनीहरु तालमेल गरेर वा तेस्रो विकल्पमा जानेसम्म तयारीमा लागेका छन् ।

त्यस्तै हिजो पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गठबन्धन दलबीच भागबण्डा नमिले एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । चुनावमा एक्लै प्रतिस्पर्धा बताएपनि उनले एमालेसँग मिल्न अझै ढोका खुला रहेको बताउँदै आएका छन् ।

यसलाई काँग्रेससँगको बार्गेनिङको रुपमा हेरिएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेमा राजनीतिमा यु टर्न हुनसक्छ । फेरि कम्युनिस्ट शक्ति एक हुने अवस्था बन्न सक्छ ।