काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न एकजुट भएका दलहरूको गठबन्धन कहिलेसम्म भन्ने बहस सुरु हुन थालेको छ ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी चार दल र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर अगाडी बढेका छन् । उनीहरू केन्द्रदेखि प्रदेशसम्म एमालेलाई पत्तासाफ गर्ने रणनीतिका साथ लागेका थिए । फलतः उनीहरूको योजनामै एमालेले नेतृत्व गरेका प्रदेश नेतृत्वसमेत सत्ता गठबन्धनको हातमा ल्याएका छन् ।
चरम असन्तुष्टी हुँदाहुदै पनि मन्त्रालयको सङ्ख्या बढाएरै भए पनि सहकार्य बचाउन गठबन्धन लागिपरेको छ । सरकार बनेपछि महाधिवेशन गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको निर्णयको मत भने फेरिएको छ ।
एमालेबाट विभाजित नेकपा एस पार्टी संरचना निर्माणमा केन्द्रित छ भने जनता समाजवादी पार्टी र जनमोर्चा आफ्नो उपस्थिति बलियो बनाउन कसरतमा छन् । कांग्रेस बाहेकका शक्तिलाई एक्लै राजनीतिमा उभिन त्यति सजिलो देखिएको छैन ।
प्रमुख प्रतिपक्षी दल एमालेले पनि आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेस मात्र भएको तर्क गर्दै आएको छ । स्थानीय तहदेखि केन्द्रीय राजनीतिमा बलियो र प्रतिस्पर्धी देखिन यी दलहरूलाई गठबन्धनको विकल्प छैन । त्यसैले उनीहरूले गठबन्धनलाई बलियो बनाउन चाहिरहेका छन् । तर यता मुख्य दल नेपाली कांग्रेस भने गठबन्धन तोड्न चाहन्छ ।
एमसीसी लगायतका मूल मुद्धामा गठबन्धनमा भन्दा प्रतिपक्ष एमालेसँग सजिलो हुनेभएपछि कांग्रेस गठबन्धनबाट बाहिरिने बाटोको खोजीमा छ । यता एमालेले पनि कांग्रेसले गठबन्धन त्यागे सहकार्य गर्न सकिने ग्रिन सिग्नल दिइसकेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै भएको बताउदै आएका छन् । कांग्रेसको महाधिवेशन अघि बालुवाटारमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले भनेका थिए, ‘अहिलेको गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएर कुनै सहमति भएको छैन ।’
सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यस्तै प्रतिक्रिया दिने गरेका छन् । निर्वाचन आयोगले आगामी १२ माघमा राष्ट्रियसभा चुनाव गर्दै छ । राष्ट्रियसभामा २० सदस्यको पदावधि २० फागुनमा सकिँदै छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि गठबन्धन सरकार आगामी तीन तहको निर्वाचनसम्म सँगै हिँड्ने प्रसङ्गलाई विवाहको निम्तो मान्न पुग्दा पुनः पास्नीको निम्तो स्वीकारे जस्तै भएको टिप्पणी गरेका छन् ।
विराटनगरमा हिजो पत्रकारहरुसंग कुरा गर्दै शर्माले भने, ‘कहिलेकाहीँ विवाहको निम्तो मान्न पुग्दा त्यही घरमा पास्नीको निम्तो पनि आउने गर्छ । त्यसैले पहिला विवाहको निम्तो मानी सकौँ त्यसपछि पास्नीमा जाने नजाने त्यसै बेला निश्चित हुन्छ ।’
वर्तमान गठबन्धन राष्ट्रिय सभा निर्वाचनसम्म सामूहिक रूपमा अगाडि बढेको उल्लेख गर्दै त्यसपछिका निर्वाचनको सवालमा त्यसै बेला टुङ्गो लाग्ने उनको भनाइ थियो ।
यता सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आगामी आम निर्वाचनसम्मै गठबन्धन कायम रहने रटान लगाइरहेका छन् । कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेकाले गठबन्धन गर्न आवश्यक रहेको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बताउँदै आएका छन् ।
उनी भन्छन् ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौँ । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ ।’
नेकपा माओवादी केन्द्रलाई पनि एमालेसँग त्रास छ । हिजो एमालेसँग एउटै मोर्चामा रहेको माओवादी केन्द्रलाई आगामी निर्वाचन परीक्षाको रूपमा खडा भएकाले उसले पनि कांग्रेसको साथ खोजिरहेको छ । तर कांग्रेस भने आगामी निर्वाचनमा कसैसंग पनि सहकार्य नगर्ने दबाबमा छ ।
युवा नेताहरू र नयाँ पुस्ताका पदाधिकारीले भरिएको कांग्रेसमा सभापति देउवालाई पनि निर्णय लिन सहज देखिँदैन । विगतमा अन्य दलसंग सहकार्य गर्दा कांग्रेसले पराजय भोगेको ठहर छ । त्यसैले यो राष्ट्रिय सभाको चुनाव पछि गठबन्धनको आयु कति भन्ने प्रश्न तेर्सिएको छ ।




प्रतिक्रिया