सिट बाँडफाटमा सकस : कांग्रेसका तीन नेता तीनतिर हुँदा गठबन्धन फुट्ने संकेत

सिट बाँडफाटमा सकस : कांग्रेसका तीन नेता तीनतिर हुँदा गठबन्धन फुट्ने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक दल नेपाली कांग्रेसभित्र आसन्न निर्वाचनमा सिट बाँडफाँटको विषयलाई लिएर आन्तरिक विवाद बढेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र कृष्ण सिटौलाबीचमा कांग्रेसले कति सिट लिने भन्ने विषयमा विवाद देखिएको हो । सभापति एवम् प्रधानमन्त्री देउवा ८० सिटको हाराहारी कांग्रेसका उम्मेदवार हुने गरी सहमति गर्ने पक्षमा छन् । तर, महामन्त्री थापाले सय सिटभन्दा तल सहमति गर्नै नसकिने अडान लिएका छन् ।

यता कार्यदलका संयोजक सिटौलाको देउवा र गगन थापाभन्दा फरक प्रस्ताव छ । सिटौलाले कांग्रेसका भागमा ९० सिटको प्रस्ताव अगाडि सारेको स्रोतले जानकारी दियो । महामन्त्री थापाले कार्यदलको बैठकमा नै पार्टीभित्रको असन्तुष्टिले निर्वाचन परिणाममा असर पर्ने तथ्य पेश गरेका थिए ।

कांग्रेसलाई सिट संख्या कम हुँदा त्यसको नकरात्मक असर परिणाम पर्ने उनको तर्क छ । थापाले तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलमा कांग्रेसको लागि सय सिटलाई बटमटाइन बनाउनुपर्ने प्रस्ताव राखेका थिए । थापाले कार्यदलको बैठकमा मात्र होइन सार्वजनिक रुपमा पनि सय सिटमा कांग्रेसको दाबी रहेको बताउँदै आएका छन् ।

कार्यदलका संयोजकसमेत रहेका नेता सिटौला ८८ देखि ९० सिटमा कांग्रेसको दाबी कार्यदलको बैठकमा पेश गरेका थिए । ८८ देखि ९० सिट कांग्रेसले पाउदा सभापति देउवा र महामन्त्री थापा दुवैलाई मनाउन सकिने प्रस्ताव कार्यदलमा गरेका थिए। कांग्रेसले सय सिट पनि पाउन नसक्ने तथा ८० भन्दा माथि हुने सम्भावनालाई ध्यानमा राखि उनले मध्यमार्गी प्रस्ताव अघि सारेका हुन् । ८८ बाट केही क्षेत्र थपघट हुने आशय सहित उनको प्रस्ताव आएको हो ।

यस्तो अवस्थामा कांग्रेसका शीर्ष तीन नेता नै तीनतिर देखिएपछि सत्ता गठबन्धनमा सिट बाँडफाटमा विवाद देखिन थालेको छ । गठबन्धन दलमा रहेका अन्य दलका नेताहरु सिट बाँडफाटमा कांग्रेसको आधिकारीक धारणा कति भन्ने अन्यौलमा परेका छन् ।

गठबन्धन फुट्ने संकेत

दलहरुले भने बमोजिमको सिट प्राप्त नभएपछि गठबन्धनमा फुट आउनसक्ने संकेत देखिएको छ । कांग्रेसले बढी सिट मागेको भन्दै सत्ता गठबन्धन दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

सिट बाँडफाटबारे कार्यदलमा हालसम्म कुनै मोडालिटी तय हुन सकेको छैन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार मात्रै कांग्रेसले परिस्थितिको सही मूल्यांकन नगरे अर्को गठबन्धन गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने उनको भनाइ छ ।

कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने भनिरहेका बेला दाहालले त्यस्तो परिस्थितिमा वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले सिट बाँडफाटमा कांग्रेसले अटेर गरे त्यसको विकल्पमा वाममोर्चा बनाएर चुनावी मैदानमा उत्रिने चेतावनी दिएका छन् ।

‘हामीसँग वाममोर्चाको पनि विकल्प छ । कांग्रेसले सिट बाँडफाँटमा साह्रै नै गरेछ भने हामीसँग संयुक्त वाममोर्चाको विकल्प बाँकी नै छ,’ प्रचण्डले भनेका थिए । स्थानीय तहमा जस्तो समस्याकाबीच निर्वाचनमा जान नसकिने धारणा प्रचण्डको छ ।

माओवादी पोलिटब्युरो सदस्य युवराज चौलागाईंले भने, ‘नेपाली कांग्रेसले शक्तिको पहिचान, वर्तमान राजनीतिक परिस्थितिलाई ठीकसँग बुझ्न सकेन, स्थानीय चुनावमा देखिएका समस्या समाधान गरेर तालमेललाई ठीकसँग लान तयार भएन भने कांग्रेस र एमाले बाहेकको शक्तिहरूको गठबन्धन हुन सक्छ भन्ने अध्यक्षको धारणा छ ।’

आइतबार दिउँसो मात्रै उक्त चेतावनी दिएका प्रचण्डले साँझ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, बेदुराम भुसाल लगायतका नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा पत्र ल्याउने, सिट बाँडफाटमा कांग्रेसले अटेर गरे के गर्ने भन्ने विषयमा छलफल गरेका थिए ।

कांग्रेसमा सिट विभाजनका विषयमा ३ थरि मत देखिएपछि विषेशगरि प्रचण्ड र माधव नेपाल आफू अनुकुल हुने संरचनाबाट सिट बाँडफाँटको निर्णय गराउने दाउमा देखिन्छन् । उनीहरु कार्यदलबाट भन्दा पनि शीर्ष नेताको बैठकबाट सिट बाँडफाट टुंगो लगाउने दाउमा छन् ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा विजयी सिट सोही दलको भागमा पार्ने र एमालेले जितेका सिटमा ६०–४० को प्रस्ताव ल्याएको छ । प्रत्यक्षतर्फ विजयी गठबन्धनमा हाल कांग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका एक गरी ८३ सिट छ ।

गठबन्धन बाहिरका दलसँग ८२ सिट छ । माओवादीले ल्याएको प्रस्ताव कांग्रेसले स्वीकार्‍यो भने ८२ क्षेत्रको ६० प्रतिशतले गर्दा ७२ सिटमा मात्रै कांग्रेसका उम्मेदवार बन्न पाउँछन् ।

‘माओवादी र एकीकृत समाजवादी हामीलाई ७२–७५ क्षेत्रमै राख्न खोजेका छन् । प्रत्यक्ष र समानुपातिकबाट कसैगरी पनि कांग्रेसको बहुमत नपुगोस् भन्ने उनीहरुको चाहना हो,’ कांग्रेसका एक नेताले भने । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धन दलले उक्त निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिसकेका छन् ।  तर,  निर्वाचनको मिति घोषणा भएलगत्तै सिट बाँडफाटमा जुटेका गठबन्धका शीर्ष नेताहरुले हालसम्म पनि भागबण्डाको टुंगो लगाउन सकेका छैनन् । कांग्रेसभित्रको आन्तरिक विवादले गठबन्धन नै फुट्ने होकि भन्ने आशंका पैदा भएको छ ।