काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताहरु बुधबार तनहुँ जाने भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईका लागि भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता मंगलबार तनहुँ जाने भएका हुन् । सत्ता गठबन्धनले कांग्रेसका भट्टराईलाई बैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ- १ मा उम्मेदवार बनाएको छ ।
जसअनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।
गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गत मङ्सिर ४ गतेसम्म तनहुँ-१ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए ।
निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए ।




प्रतिक्रिया