काठमाण्डु– सत्ता गठबन्धनको बैठक सकिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको हो ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमबारे सुझाव प्राप्त गर्न बैठक आयोजना गरिएको बताए । सत्ता सहयात्री दलहरूले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिए ।
बैठकमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको छ ।
विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको ज्ञवालीलेले बताए ।
आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको उनले बताए ।
उनले भने– ‘युवा पुस्तालाई आशा र विश्वास जगाउनका निम्ति उनीहरूमा उद्यमशीलताको विकास गर्ने, सिप विकास, स्टाटअप, व्यवसायी योजना र बजार व्यवस्थापनको समग्र योजनासहितको कार्यक्रम ल्याउनुपर्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, अनावश्यक र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्ने, सुशासनलाई प्रभावकारी बनाउन सुझाव आएका छन् ।”
”बाह्य सम्बन्धलाई थप सुदृढ गर्ने । बसाइसराई रोक्न पहाड केन्द्रित रोजगारी, कृषि व्यवसायका कार्यक्रम अगाडि बढाउने । विगतका भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् । र, त्यही ढङ्गले बजेटलाई पच्छ्यायोस् ।” भन्ने सुझाव आएको उनले बताए ।




प्रतिक्रिया