स्थानीय निर्वाचनबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक जारी


काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । स्थानीय तहको चुनावको मितिलाई लिएर विवाद बढिरहेका बेला त्यसबारेमा ठोस निर्णय लिन उक्त बैठक बसेको हो । यसअघि शनिबार बिहान बसेको बैठकले सहमति जुटाउन नसकेपछि अहिले कानुन र संविधानविदहरु पनि बोलाएर गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

यसअघिको बैठकमा गठबन्धनले जुनसुकै बेला चुनावमा जान तयार भए पनि संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । आज बिहान बसेको बैठकमा स्थानीय तह निर्वाचन मिति तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको दबाबबारे पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा राष्ट्रपतिले कसैलाई सम्बोधन नगरी लेखेको पत्र सबैलाई वितरण समेत गरेर अध्ययन गर्न दिइएको थियो । राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिइएको पत्र संवैधानिक नभएको निचोडसहित राजनीतिक र कूटनीतिक भन्दा दबाब दिन खोजिएको निष्कर्ष बैठकले निकालेको थियो ।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement