काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।
आज बिहान भएको छलफलमा समसामयिक राजनीतिक विषय, सर्वोच्चमा जारी विवादबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा शीर्ष नेताहहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि एपीएफ अस्पताल भर्ना भएका छन् ।
बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा तोकिएका इजलासहरू पूर्ण रूपमा सञ्चालन हुन सकेनन । कोभिड संक्रमित भएर अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबराले कायममुकायम तोक्नुपर्ने भन्दै कानुन व्यवसायीले विरोध गरेपछि इजलासहरू प्रभावित भएको छ ।




प्रतिक्रिया