काठमाण्डु – सरकारले संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको हो ।
बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको र उक्त प्रक्रिया अब अघि बढ्ने काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
गठबन्धनको बैठक सकिएलगत्तै बालुवाटारमा मन्त्रिपरिषदकाे बसेकाे छ । सोही बैठकबाट उक्त विधेयक पारित गर्ने र आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा कानुन संशोधनको विधेयक पेस गर्ने आन्तरिक तयारी भएको स्रोतले जानकारी दियो ।
यसअघि प्रधानसेनापति प्रभुराम शर्मा र कानुनमन्त्री गोविन्द बन्दीबीच बाक्लो छलफल भएको थियो । उनीहरुबीच संक्रमणकालिन न्यायसँग जोडिएका बाँकी विषय टुंगो लगाउने प्रयास स्वरुप छलफल भएको थियो ।




प्रतिक्रिया