काठमाण्डु – सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा संयुक्त उमेदवार बनाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि भागबण्डाको टुंगो लगाएको हो ।
सबैलाई पहिले जुन जुन पार्टीको खालि भएको छ त्यो उनीहरुलाई नै दिने र बाँकी रहेको एमालेबाट खाली हुने ८ सिटमा कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक एक, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने निर्णय भएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने भएका हुन् ।
केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।




प्रतिक्रिया