काठमाण्डु – प्रदेश १ र वागमती प्रदेश सरकार फेरबदल हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनलाई दलहरूले प्रदेशमा समेत निरन्तरता दिनेभएपछि प्रदेश १ र बागमती प्रदेशको सरकार धरापमा परेको छ । दुवै प्रदेशमा नेकपा एमालेको सरकार रहेको छ । नेकपा एमाले विभाजित बनेसँगै दुवै प्रदेशका सरकार अल्पमतमा परेका छन् ।
केन्द्रमा रहेको गठबन्धनका दलहरूले प्रदेशमा रहेको नेकपा एमाले सरकार ढलाउने तयारी थालेका छन् । हाल प्रदेश नम्बर १ मा नेकपा एमालेका सचिव भीम आचार्य र बागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको १ महिना बितिसक्दासमेत उनीहरुले विश्वासको मत लिएका छैनन् । सामान्यतया केन्द्रमा दल विभाजन भएको एक महिना पुगेपछि विश्वासको मत लिइसक्नुपर्ने छ । माधव नेपाल पक्षमा खुलेर लागेका अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई नयाँ पार्टीमा जानबाट रोक्न ओलीपक्षले मुख्मन्त्रीको प्रस्ताव गरेको थियो ।
सरकारले दल विभाजन अध्यादेश ल्याएर माधव नेपाललाई पार्टी फुटाउन सहयोग गरेको थियो । गत भदौ ८ गते एमालेबाट विभाजित बनेर माधव नेपालले नेकपा एकीकृत समाजवादी दल निर्वाचन आयोगमा दर्ता गरेका छन् । तर, निर्वाचन आयोगले दल विभाजन भएको २१ दिनभित्र दल रोज्ने समय तोकेकाले भदौ २५ गते मात्रै एक महिना पुग्छ । सोही अनुसार दुवै प्रदेशका मुख्यमन्त्रीहरुले असोज २२ गते विश्वासको मत लिने तयारी गरेका छन् । दुई वटै प्रदेशमा असोज २२ गतेका लागि प्रदेशसभाको अधिवेशन बोलाइएको छ ।
सत्ता गठबन्धन एमालेको सत्ता भत्काउँदै
दुवै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता गठबन्धनका दलहरु भने सरकारको विपक्षमा बहुमत जुटाउन कसरत गरिरहेका छन् । प्रदेश एक का एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने बताएका छन् ।
उनले एमालेको सरकारलाई कुनैपनि शर्तमा समर्थन गर्न नसक्ने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए । उनले केन्द्रको गठबन्धनलाई नै प्रदेशमा पनि कार्यान्वयन गर्ने बताए । केन्द्रबाट निर्देशन आउन बाँकी रहेकाले सरकार गठनका विषयमा कसरी अगाडि बढ्ने भन्ने टुङ्गो नलागेको बताए ।
‘२२ गते अधिवेशन बोलाएको छ । त्यो भन्दा अगाडि केही नगर्ने निर्णय भयो । छोटो समय छ । मुख्यमन्त्रीलगायतका विषयमा गठबन्धनमा जे भएपनि स्वीकार गर्ने तर, केन्द्रमा दबाब दिन नजाने । केन्द्रमा प्याकेजमा निर्णय गर्नुपर्ने भएकाले हामीले मात्रै दबाब दिन नमिल्ने भयो । बागमतीमा पनि सरकार बन्दैछ,’ उनले भने ।
नेता राईले केन्द्रबाट कुनै पनि निर्णय नभएकाले आफूहरूले मात्रै निर्णय गर्न नमिल्ने बताए । उनले आफूहरूले केन्द्रको निर्णय कुरिरहेको बताए । ‘केन्द्रबाट निर्णय हुने भएकाले केन्द्रको मुख तोकेको हो । केन्द्रमा एमसीसीले खटपट होला कि भनेर भन्ने हो भने अहिले पास हुने देखिएन । राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल चलेको छ । त्यो कुराले गठबन्धनमा खटपट छैन्,’ उनले भने ।
नेता राईले प्रदेश नम्बर १ मा आफ्नै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । उनले कांग्रेस र माओवादीको समर्थन आफूहरुलाई भएको बताउँदै बागमतीमा कांग्रेसले लिएर प्रदेश नम्बर १ मा आफ्नो नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।
‘संसदीय दलको नेता म भएकाले सम्भावना मेरो बढी छ । यसमा कांग्रेसलगायतका साथीहरुले साथ दिने भन्नुभएको छ । बागमतीमा कांग्रेस र प्रदेश एकमा नेकपा (एस) बीच सरकार बन्छ,’ उनले भने ।
त्यस्तै माओवादी केन्द्रका सांसद रामकुमार राई पासाङले मुख्यमन्त्री आचार्यलाई पदबाट राजीनामा दिन आग्रह गरेपनि नमानेको बताए । उनले चाँडै नै सर्वदलीय बैठक बसेर आचार्यको विकल्प खोजिने बताए ।
‘२२ गतेको बैठकमा उहाँले विश्वासको मत लिन खोजेको देखिन्छ । हामीले तत्कालै राजीनामा दिनूस भनेका छौं । उहाँले राजीनामा दिने कुरा मान्नुभएको छैन् । कांग्रेसको महाधिवेशनका कारणले गठबन्धनको सर्वदलीय बैठक बस्न सकेको छैन् । कस्तो रणनीति बनाउने भन्नेबारे निर्णय गर्छौं,’ सांसद राईले भने ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउनका लागि ४६ सांसदको आवश्यक पर्छ ।
त्यस्तै बागमती प्रदेशमा पनि गठबन्धनको नेतृत्वमा सरकार गठनको तयारी भइरहेको माओवादी केन्द्रका सांसद युवराज दुलाल शरदले जानकारी दिए । उनले २२ गतेको प्रदेशसभा बैठकपछि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने बताए ।
साथै सांसद दुलालले कसको नेतृत्वमा कस्तो सरकार बनाउने भन्ने विषयमा केन्द्रको निर्णय कुरिरहेकोसमेत बताए । ‘सरकार गठनका लागि केन्द्रको निर्देशन आवश्यक पर्छ । हामी केन्द्रको निर्देशनको पखाईमा छौं । सम्भवतः केही दिनभित्र टुंगो लाग्छ,’ उनले भने ।
१०९ सदस्यीय बागमती प्रदेशसभामा नेकपा एमालेबाट ४३ जना, माओवादी केन्द २३, नेपाली कांग्रेस २२, नेकपा (एकीकृत समाजवादी) बाट १३, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र स्वतन्त्रबाट एक जना सांसद रहेका छन् ।




प्रतिक्रिया