काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । राष्ट्रियसभाको निर्वाचनबारे रणनीति बनाउन गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहानबाट सुरु भएको भेटवार्ता अझै जारी छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु अहिले पनि छलफलमा रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरिसकेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको थियो ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुनेछ । राष्ट्रियसभामा गठबन्धन सम्बद्ध दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तलमेल भएको छ । जसमा काँग्रेसले ६, जसपाले २, जनमोर्चाले १, माओवादी र एकीकृत समाजवादीले ५–५ सिटमा उम्मेदवार उठाएका छन् ।




प्रतिक्रिया