काठमाण्डु – सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको अवरोध हटाउन पहल गर्ने भएको छ । शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध हुनु उचित नभएको भन्दै संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए ।
संसदलाई बिनाअवरोध सञ्चालन गर्न सरकारको जतिकै प्रतिपक्षीको पनि कर्तव्य भएकोले सबै गम्भीर हुनुपर्ने उनले बताए । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध पार्दै आएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको उनले बताए । माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।
पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।




प्रतिक्रिया