काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गर्न साउद यही मंसिर २३ मा कतार जान लागेका हुन्।
कतार बसाइका क्रममा उनी दोहा फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ। यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग काठमाण्डुमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसअघि मंसिर ७ गते साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए। इजरायल र हमासबीच लागू गरिएको पहिलो चरणको युद्ध विरामको सकिँदासमेत कञ्चनपुरका जोशी भने छुटेका छैनन् ।
फेरि युद्ध विरामको अवधि थप दुई दिन लम्बिएपछि विपिनको परिवार विपिन रिहा हुनेमा आशावादी छन् । तर, हमासको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन।




प्रतिक्रिया