कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिन एनपी साउदको माग

कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिन एनपी साउदको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सांसद एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरुलाई तत्काल पुर्नस्थापना गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग्दै उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पुर्याएको विपदलाई छोड्न नसकिने बताएका हुन् ।

‘कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुबैको क्षति भएको छ । आवश्यक राहतको केन्द्र सरकारले प्रवन्ध गर्न र उद्धारका कामहरुलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरुलाई तत्काल पुनस्र्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,’ साउदले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो ठूलो विपदालाई छाड्न सकिन्न । यतातिर सरकारको ध्यान जाओस् ।’

साउदले पटक-पटक सरकारलाई बाढीको पूर्व तयारी गर्न, बाढी नियत्रणको काममा सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए ।

‘पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्नुपर्छ भन्दै आएका छौँ । बाढी नियत्रणको काममा सरकार सजग रहनुपर्छ भन्दै आएका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको छ ।’

पूर्व परराष्ट्रमन्त्री साउदले बाढी–पहिरोबाट देशभर ८० जनाको मृत्यु भइसकेको पनि संसदलाई जानकारी गराए । ‘बाढीपहिरोबाट देशभरी ८० को जीवन समाप्त भइसकेको अवस्था छ । कञ्चनपुरमा भीषण बाढी रेकर्डको रुपमा रहिआएको छ,’ उनले भने, ‘कञ्चनपुरको पुनर्वास नगरपालिका-५ रातोखाली खोलामा लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको देहवसान भएको छ । कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि निधन भएको छ । बेलडाँडी गाउँपालिका-३ बैबाहका २३ डम्बर चौधरी वेपत्ता अवस्थामा हुनुहुन्छ । दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ । पहिचान भइसकेको छैन ।’