काठमाण्डु- हालै साउदी अरबले सन् २०२५ को फेब्रुअरीमा युक्रेनमा युद्धविरामबारे अमेरिकी र रुसी कूटनीतिज्ञहरूबीचको वार्ता आयोजना गरेको छ ।
त्यसलगतै अमेरिकी र युक्रेनी अधिकारीहरूले पनि रुससँग शान्ति सम्झौताका लागि साउदी अरबमा भेटेका छन् ।
संसारकै सबैभन्दा शक्तिशाली मानिएका साउदीका शासक राजकुमार मोहम्मद बिन सलमानको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग बलियो सम्बन्ध भएको मानिन्छ । साउदी सरकारले दुई युद्धरत पक्षबीच सक्रिय रूपमा मध्यस्थताको काम गरिरहेको छ ।
साउदी अरबको सानो छिमेकी कतारले समेत पछिल्ला दुई दशकमा विश्वभर शान्ति निर्माताको पहिचान बनाएको छ ।
कतारले गाजामा जारी इजरायल र हमासबीचको युद्धविरामका लागि अग्रणी भूमिका निर्वाह गरेको थियो । त्यसअघि समेतउसले कैयौँ शान्ति सम्झौताहरू गराएको थियो ।
किन यी छिमेकी देशहरू अन्तर्राष्ट्रिय शान्ति मध्यस्थकर्ताका रूपमा देखा परेका छन् र के यसले उनीहरूबीच कुनै कटुता उत्पन्न गराएको छ?
आक्रामक तौरतरिका अपनाउने देशका रूपमा परिचित भएको कैयौँ वर्षपछि साउदी अरबले शान्ति मध्यस्थकर्ताको भूमिका अपनाउन थालेको हो ।
सन् २०१५ मा साउदीले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो । सरकारको समर्थनमा उत्रँदै उसले हूथी विद्रोहीहरूमाथि हवाई हमला तथा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
सन् २०१७ मा लेबनान सरकारले साउदी अरबलाई लेबनानी प्रधानमन्त्री सइद अल–हरिरीलाई नियन्त्रणमा लिएर उनलाई राजीनामा गर्न बाध्य पारेको आरोप लगाएको थियो । सन् २०१८ मा साउदी सरकारका प्रखर आलोचक पत्रकार जमाल खशोग्जी सरकारी एजेन्टहरूबाट इस्तान्बुलस्थित नियोगभित्र मारिएका थिए ।
‘मोहम्मद बिन सलमानको सुरुवाती नेतृत्वले विवादहरू निम्त्याएको थियो’, अमेरिकाको वाशिङ्टनस्थित मिडल ईस्ट इन्स्टिच्यूटका डा. पल सलिम भन्छन् ।
‘यद्यपि त्यहाँको नेतृत्वले द्वन्द्व चर्काएरभन्दा शान्ति सम्झौताका लागि मध्यस्थता गरेर राम्रो गर्न सकिने निर्णय ग¥यो’, उनले भने ।
साउदी अरबले खास गरी मध्यपूर्वमा स्थिरता सुधारका लागि शान्ति सम्झौताको मध्यस्थता गरिरहेको वाशिङ्टन इन्स्टिच्यूटकी एलिजाबेथ डेन्ट बताउँछिन् ।
‘यो तेल निर्यातमा रहेको उसको निर्भरता अन्त्य गर्ने र विदेशी व्यवसायलाई देशभित्र ल्याएर नयाँ आर्थिक क्षेत्रहरू विकास गर्न सघाउने उसको रणनीतिको एउटा महत्त्वपूर्ण पाटो हो’, मध्यपूर्वमा दखल राख्ने उक्त अमेरिकी थिंक ट्यांककी डेन्टले भनिन् ।
साउदी अरबको मध्यपूर्वमा कैेयौँ दशकदेखि शान्ति निर्माताको इतिहास रहिआएको छ ।
सन् १९८९ मा रियादले लेबनानका युद्धरत पक्षहरूबीच वार्ताको मध्यस्थता गर्दै टेइफ सम्झौता र सन् १९९० मा युद्धविराम गराएको थियो । यसबाट त्यसले लेबनानमा १५ वर्ष लामो गृहयुद्धको अन्त्य भएको थियो ।
सन् २००७ मा साउदी अरबले मक्का सम्झौता गराउँदै प्यालेस्टिनी समूहहरू हमास र फताहबीचको शत्रुता अन्त्य गराएको थियो ।
हालै राजकुमार मोहम्मद बिन सलमान देशका शासकका रूपमा रहँदै गर्दै साउदी अरब पुनः शान्ति निर्माताको रूपमा आफ्नो भूमिकामा अग्रसर देखिन्छ ।
सन् २०२२ यता साउदीले यमनका हूथी विद्रोहीहरूसँग वार्ताहरू गर्दै त्यहाँ युद्धविराम गराउने प्रयासमा छ ।
उसले लामो समयदेखि सुडान द्वन्द्वका दुई पक्षहरू–देशका सैन्य शासकहरू, सुडानी सशस्त्र बलहरू र विद्रोही अर्धसैनिक
समूह, र्यापिड सपोर्ट फोर्सेसबीच वार्ता गराइरहेको छ ।
सन् २०२२ मा साउदी अरबले रुस र युक्रेनबीच एउटा सम्झौताको संयोजन गर्दै २५० जनाभन्दा धेरै युद्धबन्दी छुटाएको थियो । त्यस क्रममा युद्धका बेला पक्राउ परेका उनीहरू आआफ्ना देश फर्किएका थिए । कतार गाजामा जारी युद्धविराम गराउने देशहरूमध्ये एउटा प्रमुख हो ।
इजिप्ट र अमेरिकासहित उसले सन् २०२५ को जनबरीमा इजरायल र हमासबीच युद्धविराम गराउन सफलता प्राप्त गरेको थियो ।
सन् २०२० मा कतारले तालिबान र अमेरिकाबीच एउटा शान्ति सम्झौताका लागि मध्यस्थता गर्दै अफगानिस्तानमा १८ वर्षदेखि चलेको युद्ध अन्त्य गराएको थियो ।
त्यसकै कारण कतारबाट अमेरिका र उसका साझेदारहरू फिर्ता भए भने तालिबानको नियन्त्रणमा अफगानिस्तान पुग्यो ।
सन् २०१० मा कतारले यमनमा हूथी विद्रोही र सरकारबीच युद्धविराम सम्झौता गराए तापनि त्यो धेरै समय टिकेन ।
कतारले अफ्रिकामा समेत शान्ति सम्झौताहरू गराएको छ ।
तीमध्ये एउटा चाड सरकार र दर्जनौँ विपक्षी समूहहरूबीच सन् २०२२ मा भएको युद्धविराम सम्झौता हो ।
अर्को सन् २०१० मा सुडान सरकार र सशस्त्र समूहहरूबीच पश्चिमी प्रान्त डार्फरमा भएको शान्ति सम्झौता हो ।
सन् २००८ मा उसले लेबनानमा विपक्षी पक्षहरूबीच एक सम्झौता गराउन मध्यस्थता गरेको थियो । त्यतिखेर ती
समूहहरूबीचको शत्रुताका कारण त्यहाँ नयाँ गृहयुद्ध हुने जोखिम उत्पन्न भएको थियो ।
शान्ति मध्यस्थकर्ताका रूपमा कतार सन् १९९५ मा देशका अमिर बनेका हमाद बिन खालिफा अल–थानीको नेतृत्वमा प्रखर रूपमा देखा पर्न थालेको हो । उनी सन् २०१३ सम्म शक्तिमा थिए ।
त्यसको एउटा मुख्य कारण कतारले खाडीमा एउटा ग्यास भण्डार विकास गर्न चाहनु हो । ती सन् १९९० मा पाइएका नर्थ डोम र साउथ पार्स फील्ड हुन् ।
ती क्षेत्र कतार र इरानबीचको जलक्षेत्रमा पर्ने भएकाले त्यसका लागि इरानसँग सहकार्य गर्नुपर्ने हुन्छ । यद्यपि त्यस बेला इरान साउदी अरबविरोधी देश रहेको यूकेको रोयल यूनाइटेड सर्भिसेस इन्स्टिच्यूट इन लन्डनका डा एचए हेलियर बताउँछन् ।
‘जब कतारले आफ्नो ग्यासक्षेत्र पत्ता लगायो, तब उसले आफ्ना लागि बाटो बनाउन आवश्यक रहेको कुरा बुझ्यो,’ उनले भने ।
कतारले शान्ति मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बाटो रोज्नुका कारणबारे उनी भन्छन्, ‘धेरै राष्ट्रहरूसँग व्यापक रूपमा सकारात्मक सम्बन्ध हुनुले तपाईंलाई साथ–समर्थन गर्न सक्ने राष्ट्रहरूको सञ्जाल स्थापना गर्छ ।’
कतारले सन् २००४ को संविधानमा शान्ति मध्यस्थताकर्ताको भूमिका उल्लेख छ । डा सलिम भन्छन्, ‘कतारले अन्तर्राष्ट्रिय मध्यस्थतालाई आफ्नो एउटा राष्ट्रिय ‘ब्रान्ड’का रूपमा रोजेको छ र अरूले त्यसको सदुपयोग गर्न सक्ने पहिचान बनाएको छ ।’
कतारलाई धेरैजसो शान्ति सम्झौतामा मध्यस्थता गर्ने देशका रूपमा रोजिनुको कारण उसले साउदी अरब र अन्यले कुराकानी नगर्ने समूहहरूसँग सम्बन्ध बनाइराख्नु हो ।
‘कतारमा मुस्लिम ब्रदरहुड, हमास र तालिबानजस्ता इस्लामिस्ट समूहप्रति त्यति गहिरो घृणा छैन, जति साउदीहरूमा छ’, सलिम भन्छन् ।
उनका अनुसार कतारले तालिबानसँग बनाएको सम्बन्धले यसलाई अमेरिका र उक्त समूहबीचको सेतु बन्न मद्दत ग¥यो । त्यसै गरी हमास र इजरायल दुवैसँग बनाएको सम्बन्धले ती दुई पक्षहरूबीच हालैको युद्धविराममा मध्यस्थता गर्न मद्दत गरेको छ ।
‘साउदी अरब कट्टर मुद्दा र खेलाडीसँग संलग्न हुन्छ भने कतार अपरम्परागत शक्तिहरूसँग’, डेन्ट भन्छिन् ।
यद्यपि, कतारले मुस्लिम ब्रदरहुडजस्ता समूहहरूलाई समर्थन गरेर साउदी अरबलाई आक्रोशित बनाएको छ । ती समूहलाई साउदी सरकारले आफ्नो शासनको लागि खतराको रूपमा हेर्छ ।
सन् २०१० र २०११ कोे अरब क्रान्तिमा कतारले सिरिया र लिबियाजस्ता ठाउँमा विपक्षी समूहहरूलाई खुला साथ दिएको थियो । यसले सन् २०१७ मा खाडीमा दरार उत्पन्न गरायो भने साउदी अरब र अन्य मध्यपूर्वी देशहरूले कतारसँग विद्यमान सबैखाले सम्बन्ध तोडे ।
‘उक्त दरारपछि कतार आफ्ना छिमेकीहरूलाई ख्याल नगरीकन अतिवादी समूहहरूसँग व्यवहार गर्न त्यति धेरै बाहिर निस्केको छैन’ डेन्ट भन्छिन् ।
डा. हेलियरका अनुसार कतार र साउदी अरब कसले शान्ति सम्झौताका लागि मध्यस्थता गर्ने भनेर विवाद गर्दैनन् । ‘आजकल कतार साउदी अरबसँग प्रतिस्पर्धा गर्न चाहँदैन र साउदी अरब कतारका कुनै मुद्दामा हात हाल्न खोज्दैन’, उनी भन्छन् । ‘तर दुःखको कुरा, संसारमा अझै यी दुवैलाई व्यस्त राख्ने पर्याप्त द्वन्द्वहरू छन्’, उनको भनाइ छ ।
प्रतिक्रिया