साउनको पहिलो सोमवार, शिवालयमा व्रतालुको घुईंचो (तस्विरहरू)

साउनको पहिलो सोमवार, शिवालयमा व्रतालुको घुईंचो (तस्विरहरू)

पशुपतिमा दर्शनार्थीलाई निःशुल्क बस सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साउन महिनाको पहिलो सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

पशुपतिसहित देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन छ ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर, पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष घुइँचो हुने गर्छ ।

यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान शिवको दर्शनका लागि लामबद्ध भएका छन् । दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ ।

यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालमा रहेको बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको हो ।

पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । मूल मन्दिरमा भीड नहुने गरी साउने सोमवारको दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषको दाबी छ ।

नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा टेन्टको व्यवस्था गरेको छ ।