एसएसपी राणाविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं – यौन शोषण काण्डमा मुछिएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बिहीबार निलम्बनमा पारेका राणामाथि एक महिलाले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतसँग अनुमति लिएर उनीविरुद्द पक्राउ पूर्जी जारी भएको हो । एसएसपी राणले जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि विर्तामोडकी लिम्बू थरकी विवाहित महिलालाई १५ वर्षदेखि डरधम्की दिएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

राणा जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र संघीय प्रहरी कार्यालय धरानको प्रमुख हुँदा समेत डरधम्की दिएर आफूलाई जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छन् ।

पीडित महिलाले राणाले आफूलाई डरधम्की दिएर इटहरीको एक होटलमा लगि जबरजस्ती गरेको उजुरीमा उल्लेख गरेकी छन् । सोहि उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी परिचालन गरेको छ ।

मंसिर १७ गते गृहमन्त्रालयले राणामाथि छानबिन गर्न प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।

राणा नेपाल प्रहरीको ९८ औं टोलीका एसएसपी हुन् । २०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिर सुरू गरेका उनका अधिकांश ब्याची अहिले प्रहरी नायब महानिरीक्षक(डिआइजी)मा बढुवा भइसकेका छन् ।

राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाउँदै ती महिला गृह मन्त्रालय पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement