नयाँ नेतृत्वको पर्खाइले तातियो सौराहा

नयाँ नेतृत्वको पर्खाइले तातियो सौराहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालले केहीबेरमा नयाँ नेतृत्व पाउँदै छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम केही समयपछि सार्वजनिक हुँदैछ । १० औँ महाधिवेशनबाट अहिलेका अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत हुन चाहेकाले निर्वाचन कार्यतालिका प्रभावित भएको थियो ।

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा भीम रावलको उम्मेदवारीले चुनौती थपेको हो । अध्यक्ष पदका लागि रावलले उम्मेदवारी दिएपछि सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहाना तुहिएको हो । २१ सय ५३ प्रतिनिधि मध्ये २ हजार ९६ जनाले मतदान गरेका छन् ।

सौराहाको हात्तीचोक नजिकै रहेको होटल सेभेन स्टारमा ठूलो भिड छ । देशभरबाट आएका प्रतिनिधिहरू, नेता तथा कार्यकताले सौराहाको माहोल तातेको छ । मतपरिणाम थाहा पाउनका लागि अहिले सेभेनस्टार होटल अगाडी ठुलो भिड लागेको छ ।

मध्यरातमा केन्द्रीय कमिटी बैठक

आफ्नो नेतृत्वलाई समति जुटाउन खोजेका ओली अन्तः विफल भएका छन् । होटलमानै सहमतिको खाका तयार पारेका ओलीलाई सहज भने भएन । एउटै पदमा धेरै आकांक्षी देखिएपछि सहमति जुटाउन हम्मे हम्मे परेको हो । मंसिर १० गते महाधिवेशनको उद्घाटन सत्र सकेर बेलुका ८ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर नारायणीबाट उद्घाटन सत्र सकेर नेता तथा कार्यकर्ता फर्किने क्रममा जाममा परेपछि तोकिएको समयमा बैठक बस्न सकेन ।

जंगल क्राउन होटलमा मध्यराति बसेको बैठकले एमालेको विधान संशोधन प्रस्ताव पारित गर्यो । सो बैठकले नै एमालेको पदाधिकारी संख्या थप गर्ने निर्णय गर्यो । बैठकले गत १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले खारेज गरेको पोलिटब्युरोलाई ब्यूँतायो । दुई उपाध्यक्ष र दुई उपमहासचिव थप्ने निर्णय पनि भयो । केन्द्रीय कमिटीको संख्या ३०१ बनाइयो ।

उक्त बैठकले स्थायी कमिटी ४५ सदस्यीय, केन्द्रीय अनुसन्धान आयोग २२ सदस्यीय, केन्द्रीय लेखा आयोग २२ सदस्यीय र केन्द्रीय निर्वाचन आयोग २२ सदस्यीय बनाउने निर्णय गर्‍यो । पदाधिकारी संख्या थप भएपछि सहमतिकालागि सहज हुने भन्ने प्रचार विभाग प्रमुख योगेश भट्टराइको दाबी बास्तविकतामा परिणत हुन नसक्दा अन्तः मतदानमा होमीएको हो ।

मध्यरातमा मतदान

निर्वाचन आयोगले सोमबार साँझ ९ बजे नै मतदान सुरु गरिसक्ने बताएको थियो । तर त्यस रात पनि तोएिको समयमा मतदान कार्यक्रम सुरु हुन सकेन । त्यस दिन पनि ओली दिनभर पार्क सफारीमै बसे । आफू होटलमा बसेर कार्यकर्तालाई मञ्चमा बिचल्ली बनाएको भन्दै कार्यकर्ताहरूले चर्को आलोचना गरिरहेका थिए । दिनभर ओलीको पर्खाइमा रहेका प्रतिनिधिले भनेको समयमा भोट हाल्न पाएनन् ।

अबेरसम्म पनि मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरू आफू बसेको होटलमा विस्तारै फर्किका थिए । निर्वाचन आयोगले राति २ बजे मतदान कार्यक्रम सुरु हुने बताइएपनि त्यस समय पनि मतदान सुरु हुन सकेन । मध्यरातपछि बिहान ४ बजे मात्र ओली होटलबाट महाधिवेशनस्थल पुगेर मतदान सुरु गरेका थिए । नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान साँढे १० बजे सकिएको छ । मतदानको नतिजा दिउँसो दुइ बजेभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।