सौर्य एयरलाइन्सले तिर्‍यो बक्यौता, फागुन २४ देखि उडान

सौर्य एयरलाइन्सले तिर्‍यो बक्यौता, फागुन २४ देखि उडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ-निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न अटेर गरेपछि विमानस्थलले उक्त एयरलाइन्सको उडान रोकेको थियो ।

करिब चार महीनादेखि उडान रोकिएको सो एयरलाइन्सले नियमित उडान गर्ने भएको हो । भारतीय कम्पनी कुबेर समूहले खरीद गरेको सौर्यले आज पहिलो किस्ताबापत रु ५० लाख तिरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थलाई जरिवानासहित रु चार करोड बक्यौता रकम तिर्नुपर्ने हुन्छ। अबका १० दिनभित्र थप रु ५० लाख र दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको महाप्रबन्धक क्षेत्रीले बताए।

सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । अबको एक महीनाभित्र सबै बक्यौता रकम तिरिसक्ने उनले उल्लेख गरे।

विमानस्थलले सेवा शुल्क नतिरेको भन्दै गत मङ्सिर ११ गतेदेखि सौर्यका जहाज ग्राउण्डेड गरेको थियो । आर्थिक सङ्कटमा परेको सौर्य केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर समूहले रु ६३ करोडमा खरीद गरेको थियो । सो समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरीद गरेको जनाएको छ ।

हाल दुई ओटा बम्बार्डिएर जहाजमार्फत उडान गर्दै आएको सौर्यले अबका ६ महीनाभित्र तीन ओटा एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिनुभयो । कम्पनीले नयाँ जहाज खरीद गरेसँगै नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ । रासस